नेपालमा व्यावसायिक फुटबलको अवस्था दयनीय

पुरुष खेलाडीले विदेशमा व्यावसायिक फुटबल खेलिरहे पनि महिलाका लागि भने त्यो अवसर कम मात्रै आउने गर्छ । महिला खेलाडीका लागि त्यस्तो अवसर बिरलै प्राप्त हुन्छ । पहिलो पटक यो अवसर प्राप्त गरेका छन् स्ट्राइकर सावित्रा भण्डारी र अनिता बस्नेतले ।

एपीएफमा आबद्ध उनीहरु अब भारतको महिला लिग क्लब सेतुबाट मैदान उत्रिनेछन् । सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा रहेकी सावित्रासँग लिग योजनाबारे रेखा शाहीले गरेको कुराकानीको सम्पादित अंशः

व्यावसायिक लिगका लागि आबद्ध हुनुभएको छ । कस्तो महसुस भइरहेको छ ?
हाम्रो लागि पहिलो अवसर हो । पहिलो पटक व्यावसायिक लिग खेल्दैछौँ । त्यही भएर एकदमै उत्साहित छु । केही गरेर देखाउनु पर्नेछ । पाएको अवसरलाई सदुपयोग गरेर आगामी दिनको बाटो तय गर्नुपर्नेछ ।
समग्रमा एकदमै खुसी छु । यो नयाँ उडानले आगामी दिनमा जुनियर बहिनीहरुका लागि पनि बाटो तय गरोस् भन्ने लागेको छ ।

अहिले भारतमा तपाईं आबद्ध भएको क्लब कस्तो हो ?
सेतु फुटबल बल भारत तमिलनाडुको टोली हो । गत सिजनको उपविजेता टोली पनि हो । गत सिजन फाइनलमा हारेको टोली भएर हामीसँग क्लबले धेरै अपेक्षा गरेको छ । सेतुका खेलहरु पनि राम्रा छन् । क्लब राम्रो छ । खेलाडी पनि राम्रै आबद्ध छन् । अब हामीले खेलेपछि केही नयाँ नतिजा दिनुपर्छ ।

त्यो क्लबमा कसरी आबद्ध हुनुभयो ? कसको सहयोग रह्यो ?
पाचौं महिला साफ च्याम्पियनसिप अघि भारत उडिसामा भएको हिरो वुमेन्स गोल्डकपमा गरेको प्रदर्शनका आधारमा आबद्ध हुन सजिलो भयो । त्यहा रहँदा क्लबका पदाधिकारीले हामीलाई छनोट गरे । पछि पाचौं साफको खेलबाट राम्रो लागेपछि आबद्धका लागि अफर आएको हो । यसमा महिला टोलीका प्रशिक्षक हरि खड्का सरले ठूलो भूमिका निर्वाह गर्नुभयो । उहाँले सेतुको सीईओसँग कुरा फाइनल गर्न सहयोग गर्नुभयो । हरि खड्का सरले गर्दा हामी पहिलोपटक व्यावसायिक लिगतका लागि आबद्ध भएका हौं ।

व्यावसायिक रुपमा विदेशी क्लबबाट खेल्दा कस्ता चुनौती कस्ता आउलान् जस्तो लागेको छ ? अनि अवसर पनि त होलन नि !

हाम्रा लागि एकदम ठूलो अवसर हो । अनि चुनौती छ । यसलाई कसरी सदुपयोग गर्ने । कस्तो प्रदर्शन गर्ने भनेर । जुनसुकै क्लबमा आबद्ध भएपछि या भनम घरेलु वा विदेशी जे भए पनि मैदानमा उत्रिएपछि एउटा खेलाडीले गर्नुपर्ने जिम्मेवारी पूरा गर्नेछौं । मैदान पुगेपछि खेलाडीको सपना बेग्लै हुन्छ त्यो सपना पूरा गर्ने कोसिस गर्नेछौं । क्लबले म माथि लिएको विश्वासलाई पूरा गर्ने कोसिस गर्नेछु । सुन्दर अवसरलाई सक्दो सदुपयोग गर्नेछौं । खेर फाल्नेछैनौं ।

विदेशी क्लबबाट खेल्दै गर्दा नेपाली समर्थकहरुलाई तपाईंको सन्देश के हो ?

घरेलु मैदानमा पाउने जति पनि माया र साथ पाएको छु । त्यसले निकै उत्साहित बनाएको छ । प्रदर्शन पनि सुधार हुँदै गइरहेको छ । अब बिदेशी क्लबमा खेल्दैछौं । यसमा पनि समर्थकको माया पाउनेमा विश्वस्त छु । भारतमा रहँदा पनि माया र साथ पाउनेमा विश्वस्त छु ।
मैदान बाहिर वा भित्र समर्थकको मायाले निकै उत्साहित बनाउँछ ।

तपाईंसँगै अनिता बस्नेत पनि क्लबमा आबद्ध हुनुभएको छ ? दुबैजना सँगै हुँदाको फाइदा के हो ?
दुबै जना सँगै हुँदा निकै सजिलो हुन्छ । हामी दुबैजना एउटै क्लबमा आबद्ध छौं । एपीएफ होस् वा राष्ट्रिय टिममा हामी सँगै खेलिरहेका छौं । एकअर्काको खेल र स्प्रिटमा जानकार छौं । उसले कस्तो खेल्छ र मैले कस्तो खेल्छु रिड गरेका छौं । यसले खेल्न सजिलो हुन्छ ।

नेपालमा व्यावसायिक फुटबलका लागि के हुनुपर्थ्यो जस्तो लाग्छ ?
नेपालमा व्यावसायिक फुटबलको अवस्था दयनीय छ । राष्ट्रिय टोलीले अब के गर्ने भन्ने अन्यौल छ । राष्ट्रिय प्रतियोगिताको माहोल नै छैन । जिल्लामा कति खेलाडी छन् । सबैको क्षमता बुझेर प्रतियोगिता गर्दा धेरै राम्रा खेलाडी उत्पादन हुने अवस्था छ । तर क्षमताको मुल्याङकनका लागि प्रतियोगिता नै छैन ।

लिग लामो समयको हुनुपर्ने भए पनि नेपालमा वुमेन्स लिग एक हप्ताको मात्रै हुन्छ । लिगले खेलाडीको जीवनमा कस्तो प्रभाव पार्ला ?

पहिलेदेखि घटेको घटना जस्तो छ एकहप्ते लिग । एक हप्तामा सक्ने नियम जस्तो भएको छ । सुधारका लागि पहल भएको छैन । एक साताको लिग निरन्तर खेलाइन्छ । खेलाडीलाई आराम पुग्दैन । एक सातामा खेलाडीले आफनो प्रदर्शन पनि देखाउन सक्दैन । धेरै खेले ५ वटा खेल खेलिन्छ यसमा राम्रो अनुभव पनि हुँदैन ।

खेलाडीलाई आफनो प्रदर्शन सुधारको मौका पनि हुँदैन । त्यसले एन्फाले जतिसक्दो महिला लिगमा सुधार गर्नु आवश्यक छ । यस्तो लिगले महिला फुटबलको विकासको के अपेक्षा गर्ने ।

महिला भएका कारणले आफूलाई शारीरिक रुपमा लामो समयसम्म फिट राख्न निकै गाह्रो हुन्छ भन्छन् तर तपाईंमा त्यस्तो देखिँदैन, यसको रहस्य के हो ?

शारीरिक रुपमा फिट राख्न गाह्रो छ । नियमित अभ्यास नै हो । अभ्यासमा अभ्यस्त हुने । नियमित अभ्यासमा केन्द्रित हुने । ट्रेनिङको तालिकाअनुसार आफुलाई तयार राख्ने । कुनै बेला गाह्रो ट्रेनिङ गर्नुपर्ने हुन्छ । त्यसका लागि तयार बस्नुपर्छ ।

पछिल्लो समय नेपाली महिला फुटबलको अवस्था र भविष्य कस्तो देख्नुभएको छ ?

भविष्य राम्रो छ । अन्तर्राष्ट्रिय एक्सपोजर पाए महिला फुटबलले केही गर्न सक्छ भनेर प्रमाणित गरेका छौं । ओलम्पिक छनोटको पहिलो चरणमा राम्रो भयो । हिरो वुमेन्स गोल्डकपमा भारतलाई हरायौं । साफमा पनि राम्रो कोसिस गरेका हौं । घरेलु प्रतियोगिता छैन । त्यसैले धेरै राम्रो गर्न सकिँदैन । वर्षमा हुने एकाध प्रतियोगिताले स्तर सुधार्न सकिँदैन । धेरै प्रतियोगिता र एक्सपोजर पाए महिला फुटबलको भविष्य सुन्दर छ ।

नेपालमा मनपर्ने तपाईंको फुटबल आइडल को हुन् ?
मेरो फुटबल आइडल अनु लामा दिदी हो । म एपीएफमा आबद्ध भएदेखि दिदीबाट धेरै कुरा सिकेको छु । उहाँको खेल कौशल, खेलाडीलाई गर्ने व्यबहार र टिमलाई गर्ने मोटिभेट लगायतका बिषय उहाँबाट सिकेको छु । खेलाडीमा देखाउने व्यवहार र उत्साहले अझै सजिलो बनाएको छ ।

तपाईंको सेलिब्रेसन रोनाल्डोकै स्टाइलको हुन्छ, किन ?

किनकि म रोनाल्डोको सकर्थक हुँ । ४ वर्ष भयो रोनाल्डोलाई फलो गर्न लागेको । मेरो वेष्ट हो रोनाल्डो । त्यही भएर सेलिब्रेसन पनि रोनाल्डो स्टाइल आउँछ । विश्वकै उत्कृष्ट खेलाडी भएकाले उनका गतिविधिमा म पनि अपडेट छु ।

झट्ट हेर्दा तपाईं केटा जस्तै देखिनुहुन्छ ? साथी भाईले कत्तिको जिस्क्याउँछन् ?
बाल्यकालदेखि नै मेरो स्टाइल हो । म केटी हो लजाएर हिड्नुपर्छ भन्ने कहिले आएन । पहिलेदेखि नै यस्तो स्टाइल गरी हिडेँ । त्यसैले जिस्क्याउने आँट गर्दैनन् ।

Source: Baarhakhari

Next Post

नेइमारलाई आफ्नै प्रशिक्षकले गरे आलोचना

Tue Apr 30 , 2019
फ्रेन्च कपको फाइनल सकिएपछि मैदानबाट बाहिरिने क्रममा एक फ्यानसँग विवाद गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी)का प्रशिक्षक थोमस टुसिलले आफ्ना स्टार स्ट्राइकर नेइमार जुनियरको आलोचना गरेका छन्। फेन्च कप फाइनलमा २-० को अग्रता गुमाउँदै २-२ को बराबरी पछि पिएसजी रेन्नेसविरुद्ध पेनाल्टीमा ६-५ ले पराजित भएको थियो। खेलपछि भिडियो खिच्दै गरेका १ […]
Nepali Version