आर्मी र थ्री स्टार आहा गोल्डकप उपाधिका लागि भिड्दै

आहा रारा गोल्डकपको १७ हौं संस्करणको उपाधिका लागि शनिबार रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । आर्मी पहिलोपटक उपाधि जित्ने दाउमा छ भने थ्री स्टार पाँचौ पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

पोखरा रंगशालामा हुने उपाधि भिडन्तको पूर्वसन्ध्यामा दुवै टोलीले उपाधिका लागि खेल्ने प्रस्ट पारेका छन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आर्मी जस्तो राम्रो टोलीविरुद्ध फाइनल खेल्न आतुर रहेको बताए । ‘ आर्मी निकै राम्रो टोली हो । घरेलु फुटबलमा आर्मी र थ्री स्टार नै शीर्ष दुई टोली हुन् । अब फाइनलमा उत्कृष्ट दुई टोलीको खेल दर्शकहरुको लागि पनि हेर्नलायक हुनेछ,’ उनले भने ।

आर्मी का प्रशिक्षक नवीन न्यौपानेले पनि बलियो थ्री स्टारलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य राखेको बताए । ‘हामीले मोफसलमा राम्रै नतिजा हात पारेका छौं । थ्री स्टारविरुद्ध पनि यसअघि खेलिसकेका छौं । टोली राम्रो स्थितिमा छ र उपाधि जित्ने नै हाम्रो लक्ष्य हो,’ न्यौपानेले थपे ।

पछिल्लो केहि प्रतियोगितामा उपाधि जित्न नसकेको अवस्थामा यस उपाधि जितेर लयमा फर्कने थ्री स्टारका कप्तान विक्रम लामाले बताए । आर्मी का कप्तान भरत खवासले अहिले टोलीले राम्रो लयमा खेलिरहेकाले त्यसलाई निरन्तरता दिँदै आहा गोल्डकप जित्दै इतिहास रच्ने अभिव्यक्ति दिए ।


थ्री स्टारले प्रतियोगिताको पहिलो खेलमा युनाइटेड सिक्किमलाई ५-२ को फराकिलो अन्तरले पराजित गरेको थियो । एपीएफलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार फाइनल पुगेको हो ‌। पहिलो खेलमा हिमालयन शेर्पालाई ३-१ ले हराएको आर्मी ले सेमिफाइनलमा दाउफिन्सलाई १-० ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो ।

थ्री स्टार पछिल्लो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित हुँदै उपाधि जित्नबाट बन्चित भएको थियो । २०७१ यता थ्री स्टारले उपाधि जितेको छैन । त्यसअघि २०६३, २०६७ र २०६९ सालमा थ्री स्टारले यस प्रतियोगिताको उपाधि जितेको थियो ।

Source: Hamrokhelkud

2 thoughts on “आर्मी र थ्री स्टार आहा गोल्डकप उपाधिका लागि भिड्दै

  1. Pingback: CBD

Comments are closed.

Next Post

रियल मड्रिड बार्सिलोनासँग पराजित, राकिटिकको निर्णायक गोल

Sun Mar 3 , 2019
लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई पराजित गरेको छ । शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा इभान राकिटिकले निर्णायक गोल गरे । आफ्नै घरेलु मैदानमा बार्सिलोनालाई पराजित गर्न रियललाई अवसर थियो । तर उसको अवसर […]
Nepali Version