हिमालयन शेर्पा र जाउलाखेल विजयी, एनआरटी र फ्रेन्ड्सबीच बराबरी

हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा हिमालयन शेर्पाले बीबीसीलाई ४–१ गोलअन्तरले पराजित गरेकाे हाे ।

हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे । त्यस्तै, गोहा प्याट्रिक प्रिभाट र भिसान गुरूङले समान एक–एक गोल गरे । यता, बीबीसीका लागि भने बर्तमान राईले गोल गरेका थिए ।

खेलको पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलको ४६ औं मिनेटमा प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । खेलको ५४ औं मिनेटमा भिसानले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

एकपछि अर्को आक्रमक खेल खेलेको हिमालयन शेर्पाका लागि खेलको ६१औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा विश्वासले नै व्यक्तिगत दोस्रो गोल गर्दै ४–० गोलको अग्रता दिलाएका थिए ।

८७ औं मिनेटमा बीबीसीका लागि बर्तमानले गोल गरेप नि हिमालयन शेर्पाको जित रोक्न भने सकेनन् ।

जितसँगै हिमालयन शेर्पाले ११ खेलबाट १७ अंक बनाउँदै लिगको पाँचौं स्थानमा उक्लिएको छ । पराजित बीबीसीको भने ११ खेलबाट ६ अंक मात्रै भएको छ ।

त्यस्तै आज भएको अर्को खेलमा जाउलाखेल युथ क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा जाउलाखेलले मछिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

जाउलाखेलको जितमा अरुज सिंह र फोडे फोफनाले गोल गरेका थिए । यता, मछिन्द्रका लागि अलबाले गोल गरेका थिए ।

खेलको पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको दोस्रो हाफमा मछिन्द्रले भन्दा जाउलाखेलले तुलनात्मक रुपमा राम्रो खेल खेल्यो ।

खेलको ५५औं मिनेटमा अरुजले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा फोडे फोफनाले गोल गर्दै जाउलाखेललाई दोब्बर अग्रता दिलाएका थिए । तर खेलको ९० औं मिनेटमा अबलाले गोल गर्दै २–१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

जितसँगै जाउलाखेल लिगको नवौं स्थानमा उक्लिएको छ । ११ खेल खेलेको जाउलाखेलको ११ अंक नै रहेको छ । त्यस्तै, पराजित मछिन्द्र भने लिगको १२ औं स्थानमा छ । मछिन्द्रको ६ अंक रहेको छ ।

त्यस्तै, हलचोकस्थित एपीएफको खेलमैदानमा बुधबार नै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) क्लब र फ्रेन्ड्स क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।