ए डिभिजन लिग: मनाङद्वारा ब्रिगेड ब्वाइज ३-१ ले पराजित, हिमालयन शेर्पा र एपीएफ बराबरीमा

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी विजय भएको छ। सातदोबाटोकाे एन्फा मैदानमा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइजविरुद्ध १ गोलले पछि परेको मनाङले उत्कृष्ट कमब्याक गर्दै ३-१ ले विजयी भएको छ।

पहिलो हाफको २८ औं मिनेटमा रजत तिवारीले गोल गरेका थिए। पहिलो हाफमा १ गोलले अग्रता लिएको ब्रिगेडले दोस्रा हाफमा भने त्यो अग्रता जोगाउन सकेन। दोस्रो हाफको शुरुमा मनाङका हेमन गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ५७ औं मिनेटमा अफिज वलावाले गोल गर्दै मनाङलाई २-१ को अवस्थामा पुर्याएका थिए।

दोस्रो हाफमा लय गुमाएको ब्रिगेडविरुद्ध वलावालेलेनै इन्जुरी समयमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए।

त्यस्तै आज भएको अर्को खेलमा विभागीय टिम एपीएफ क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा दुबै टिमले गोल गर्न नसकेपछि अंक बाँडेका हुन्।