नेपालको लगातार दोस्रो जित

नेपालले टी-२० विश्वकप एसिया छनोट ‘बी’ मा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ। सन्दीप लामिछानेको उत्कृष्ट बलिङ तथा कप्तान पारस खड्काको अर्धशतक मद्दतमा नेपालले लगातार दोस्रो खेलमा जित हासिल गर्न सफल भएको हो।

टी-२० वर्ल्डकप क्वालिफायर : नेपालको लगातार दोस्रो जित, सन्दीपको ५ विकेट, पारसको अर्धशतक

क्वालालम्पुरमा घरेलु टोलीले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । कप्तान पारस खड्का ५२ रनमा अविजित रहे भने उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन बनाए।

नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर अनिलकुमार साह एक रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र २ रन थियो । विनोद भण्डारीले १२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र १०० रन बनाएको थियो । उसका सफिक शरिफले ४९ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा सन्दीपले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिएका थिए । सोमपाल कामीले तीन र पारस खड्काले १ विकेट लिए ।