भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

यू-१८ साफ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।टाइब्रेकरमा ३-१ ले भारतको चुनौती पन्छाउँदै नेपाल उपाधि नजिक पुगेको हो।

भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको भारतलाई निर्धारित समयमा १-१ को बराबरीमा रोक्दै ट्राइब्रेकरमा ३-१ ले पन्छाएको हो।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गराइएको थियो।

रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएकी थिइन्। रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरेकी थिइन्। पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो। दोस्रो हाफको ६२ औं मिनेटमा भारतले गोल फर्कायो।

निर्धारित समय १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गराइएको थियो। पेनाल्टीमा नेपालका लागि अन्जना रानामगरले दुई प्रहार बचाइन् भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो।

नेपाली पूजा रानाको प्रहार बाहिरिएको थियो। नेपालका लागि गोलरक्षक अन्जना, रेखा पौडेल र मनिषा राउतले गोल गरेका थिए।

नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो। भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’ को विजेता भएको थियो। नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई १२-० ले पराजित गर्दा बंगलादेशसँग भने २-१ ले पराजित भएको थियो।

अब नेपालले उपाधिका लागि बंगलादेश र आयोजक भुटानबीच आजै हुने खेलको विजेतासँग खेल्नेछ।