एन्फाले रामसार मिडियासँग गरे नयाँ सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एपीवान एचडी टेलिभिजनसँगको सम्झौता तोडेको छ।

गएको वर्षको जेठमा एन्फा र एपीवानले ३ वर्षका लागि करिब ५ करोडको सम्झौता गरेका थिए। सम्झौता अनुसार नेपालमा हुने अन्तर्राष्ट्रिय र एन्फाले गर्ने फुटबल कार्यक्रमहरुको प्रत्यक्ष प्रशारण गर्नेदेखि मार्केटिङ र स्पोन्सरको राइट लिएको थियो।

तर पछिल्लो निर्वाचित कार्यसमिति आएपछि विगतको सम्झौता अनुसार एन्फालाई लाखौं रुपैयाँ घाटा रहेको भन्दै एपीवानसँगको सम्झौता रद्द गरिएको हो।

एपीवानसँगको सम्झौता रद्द गरेसँगै एन्फाले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि रामसार मिडियासँग नयाँ सम्झौता गरेको छ।

जस अनुसार लिग फुटबलको प्रायोजनबापत मात्र १ करोड वार्षिक रुपमा एन्फालाई तिर्नुपर्ने छ। यसैगरी दोस्रो वर्ष डेढ करोड र तेस्रो वर्ष २ करोड तिर्ने सहमति भएको छ।