नेपाल एसिया कप छनौट खेलमा ओमानसँग ७ विकेटले पराजित

एसिया कप क्रिकेटको छनौट खेलमा ओमानद्वारा नेपाल ७ विकेटले पराजित भएको छ। नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो।

ओमानको जितमा खवार अलीले नट आउट ८४ तथा जिसन मक्सुदले नट आउट ४५ रन बनाए। बैभव वाटेगोन्कर ४१ जितेन्दर सिंह ३० तथा अकिब इलियस १६ रनमा आउट भए। ३ मध्य नेपालका पारस खड्काले १ विकेट लिए भने २ विकेट रन आउट भएका थिए।

ओपनर अनिल साहलाई आराम दिएर सुवास खकुरेललाई मौका दिए पनि सुवास ४ रनमा आउट भए । ३१ रन हुदा पहिलो विकेट गुमाएको नेपालका लागि कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले केहि सम्हालिने प्रयास गरेका थिए ।

पारस ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट गुमाएको थियो।

राम्रो लयमा देखिएका ज्ञानेन्द्र मल्ल ४५ रनमा पेभेलियन फर्किदा नेपालले ५८ रनमा तेस्रो विकेट गुमायो । नेपालले ८० रन बनाउदा चार विकेट गुमायो । दिपेन्द्रसिंह ऐरी पनि मात्र नौ रनमा आउट भए ।

त्यसपछि पाँचौ विकेटका लागि सागर पुन र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर एक सय ७२ रन हुदा आरिफ ३६ रनमा आउट हुन पुगे । यता आरिफसँग राम्रो ब्याटिङ गरेका सागरले ६३ बलमा अर्धसतक बनाए । त्यसपछि क्रिजमा आएका रोहित पौडेलले खाता खोल्न सकेनन् ।

करण केसीले विस्फोटक २६ रन बनाए । अन्तिम ओभरमा नेपालले लगातार दुई विकेट गुमाउन पुग्यो । जसमा सागर पुन ८३ रन आउट हुदा बसन्तले खाता नै नखोली आउट भएका थिए ।