एन्फाको विशेष साधारणसभा सम्पन्न, बी र सी डिभिजन क्लबको संख्या बढायो

एन्फाको १७ औं विशेष साधारणसभाले विधान संशोधनका साथै विभिन्न नियमावली पारित गरेको छ।

बुधबार चितवनको सौराहामा भएको विशेष साधारणसभाले विधान संशोधन गर्दै एन्फालाई प्रादेशिक संरचनामा जाने निर्णय गरेको छ । योसँगसँगै एन्फाको अब सात वटै प्रदेशमा कमिटी बन्ने छ । एन्फाका प्रवक्ता किरण राईका अनुसार विधान संशोधनको एजेण्डा सर्वसम्मतले पारित भएको छ।

देश संघीय संरचनामा गईसकेकोले एन्फालाई पनि सोही अनुरुप लैजान लागिएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए ।

एन्फाले विधान संशोधन गर्दै बी र सी डिभिजनमा क्लबहरुको संख्याको बढाउनुको साथै निर्वाचनमा मताधिकार पाउने क्लबको संख्या पनि वृद्धि गरेको छ । १२ वटा क्लब रहेको बी डिभिजनमा अब १६ वटा क्लब रहनेछन् भने सी डिभिजनमा क्लब संख्या ११ बाट बढाएर १८ पुर्‍याइएको छ । ए डिभिजनमा भने १४ क्लब यथावत राखिएको छ ।

एन्फामा १५ मत बढ्यो

अखिल नेपाल फुटबल संघ (एन्फा) मा मताधिकार पाउने सदस्य संख्या पनि बढेको छ । विधान संशोधन गर्दै एन्फाले १५ मताधिकार बढाएर ९२ पुर्‍याएको छ । यसअघि ७७ मताधिकार रहेको थियो ।

एन्फाले बी डिभिजनबाट २ मताधिकार थप गरेको छ । क्लब संख्या बढाएसंगै बी डिभिजनबाट मताधिकार थप गरिएको हो । यस्तै सी डिभिजनबाट ४ मताधिकार बढाइएको छ ।

७ वटा क्लब थप गरेसँगै ५ बाट मताधिकार बढाएर ९ पुर्‍याइएको छ । यस्तै मोफसलबाट ए डिभिजनका लागि छनौट हुने ४ वटा क्लबबाट ४ मत र पाँच नयाँ जिल्लाबाट एक/एक मत गरी १५ मत वृद्धि गरिएको छ ।

पाँच जिल्लामा शाखा विस्तार

एन्फाले विधान संशोधन गर्दै पाँच वटा जिल्लामा शाखा थप गरेको छ । एन्फाले प्रदेश ५ मा एक वटा जिल्ला, प्रदेश ६ मा दुई वटा र प्रदेश ७ मा दुई जिल्ला थप गरेको हो । यसअघि एन्फाको ४५ जिल्लामा शाखा थियो ।

विशेष साधारणसभाबाट एन्फाले विभिन्न नियमावली समेत पारित गरेको छ । आर्थिक, कर्मचारी, एन्फा सञ्चालन नियमावली, खेलाडी दर्ता नियमावली निर्माण गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

सौराहास्थित होटेल सेभेन स्टारमा भएको विशेष साधारणसभामा ४५ वटा जिल्ला संघबाट तीन/तीन, १४ वटा ए डिभिजन क्लवका तीन/तीन जना, चार वटा संघका तीन/तीन, पर्यवेक्षक गरी करिव ३०० जनाको सहभागिता रहेको छ ।