थ्रीस्टार र पुलिस बीच आज तिलोत्तमा गोल्डकप उपाधि भिडन्त

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल आज (शनिबार) थ्री स्टार र नेपाल पुलिस क्लब बीच हुँदैछ। उपाधि विजेताले ७ लाख ७७ हजार ७ सय ७७ तथा दोस्रो हुने टोलीले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन् ।

लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लबलाई २–१ ले हराउँदै थ्री स्टारले फाइनल यात्रा तय गरेको थियो । थ्रीस्टारसँग उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको पुलिसले आयोजक रूपन्देही-११ लाई सडेन डेथमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।

तिलोत्तमामा भने पुलिसको इतिहास बलियो छ । पुलिसले ४ पटक उपाधि जित्दा थ्री स्टारले भने अहिले सम्म जित्न सकेको छैन ।

तिलोत्तमा गोल्डकपको पछिल्लो संस्करण सिएमजी क्लब संकटाले जितेको थियो । यसपटकको प्रतियोगिता सञ्चालनमा झन्डै ८७ लाख खर्च हुने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष केसीले बताए । संघले फाइनलका लागि ३ सय र १ सय ५० रुपैयाँ टिकट दर तोकेको छ ।