नेपाल हङकङसँग आज भिड्दै, आजको खेल निर्णायक

विश्वकप छनोट क्रिकेटबाट बनाएको वान–डे लक्ष्यसम्म पुग्न नेपालका लागि आगामी दुई खेल निकै निर्णायक छन् । हङकङसँग आज (सोमबार) हुने खेलले अझै यसको स्पष्ट निक्र्यौल गर्नेछ । हङकङका चुनौती पन्छाउन सकेमा मात्र नेपालसँग आफ्नो गन्तव्य पुग्ने सम्भावना रहन सक्छ ।

जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपालले पहिलो तीन खेल हारिसकेको छ । जिम्बावे र स्कटल्यान्डसँग पराजित हङकङले अफगानिस्तानलाई भने ३० रनले पराजित गरेको थियो । त्यही विजयले हङकङलाई सुपर सिक्समा पुग्ने सम्भावनालाई ब्युँत्याएको थियो । हङकङको टेस्ट मान्यता प्राप्त राष्ट्रसँग त्यो पहिलो जित थियो ।

नेपाल भने शनिबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो । विश्वकप छनोट जस्तो प्रतियोगिता नेपाललाई निकै कठिन भइरहेको यो पहिलो भने होइन । २०१४ मा न्युजिल्यान्डमा भएको पछिल्लो विश्वकप छनोटमा पनि नेपाल समूह चरणको सबै ४ खेलमा पराजित भई विश्व क्रिकेट लिग डिभिजन ३ मा झरेको थियो । इतिहास दोहोरिएमा नेपाल पुन: डिभिजन २ मा झर्न सक्छ । नेपालले गत महिना मात्र नामिबियामा डिभिजन २ को फाइनल पुग्दै विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाएको हो ।
गत वर्षको विश्वकप छनोटमै देखाएको प्रदर्शनका आधारमा अहिले हङकङसँग वान–डे अन्तर्राष्ट्रिय मान्यता छ । अहिलेको विश्वकप छनोट पनि एसोसिएट राष्ट्रका लागि त्यही वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउने आधार रहेको छ । नेपालले त्यही आधार समाउन खोजिरहेको छ । अन्यथा आगामी चार वर्ष नेपाल फेरि विश्व क्रिकेट लिगको डिभिजन क्रिकेटमा अल्झिरहनुपर्ने हुन्छ ।

कप्तान पारस खड्काबाहेक अन्य ब्याट्सम्यानले खेल्न नसक्दा नेपालले लय लिन सकिरहेको छैन । जिम्बावेसँग पहिलो खेलमा ४० रन बनाएका पारसले स्कटल्यान्ड र अफगानिस्तानसँग अर्धशतक बनाएका थिए । शरद भेषावकर र आरिफ शेखले जिम्बावेसँग अर्धशतक बनाए पनि नेपालको ब्याटिङ विश्वकप छनोटअनुरूपको देखिएको छैन ।

‘ब्याटिङमा हामीले फिनिस गर्न सकेका छैनौं । जसले ठूलो स्कोर बनाए पनि त्यो अन्तिमसम्म विकेटमा हुनुपर्‍यो र बोर्डमा २ सय ४० रनभन्दा बढी हुनुपर्छ,’ नेपालका प्रशिक्षक जगत टमाटाले जिम्बावेबाट भने, ‘बलिङ पनि हाम्रो लयमा छैन । अनुशासित बलिङको खाँचो छ ।’ प्रमुख ब्याट्सम्यान शरद भेषावकर ह्यामस्ट्रिङका कारण अफगानिस्तानसँग खेल्न सकेका थिएनन् । शरदको विषयमा सोमबार बिहान फिटनेस परीक्षणपछि मात्र अन्तिम निर्णय लिने टमाटाले जनाए । ओपनिङ ब्याटिङ नेपालको मुख्य चिन्ताको विषय हो । ज्ञानेन्द्र मल्ल र दिलीप नाथ लगातार असफल हुँदा त्यसले नेपाली ब्याटिङ प्रभावित हुन पुगेको छ । दिलीपको स्थानमा नेपालले अफगानिस्तानसँग अनिललाई ब्याट्सम्यानका रूपमा खेलाएर विकेटकिपिङको पनि जिम्मेवारी दिएको थियो । हङकङसँग अनिलले नै खेल्ने वा दिलीपलाई पुन: खेलाइने विषयमा निर्णय हुन बाँकी रहेको टमाटाले बताए । ज्ञानेन्द्रले जिम्बावेसँग ५९ बलमा ३२, स्कटल्यान्डसँग १ र अफगानिस्तानसँग ६९ बलमा २३ रन बनाएका थिए ।

बलिङमा नेपालको मुख्य चिन्ता हङकङका कप्तान बाबर हायत र उपकप्तान अंशुमन रथको फर्मलाई लिएर हुन सक्छ । दुवै डिसेम्बरमा काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्सबाट खेलेका थिए । बाबर प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका थिए । अंशुमनले ब्याटिङबाट विराटनगरलाई विजेता बनाउन प्रमुख भूमिका खेलेका थिए । हायतले जिम्बावेमा ३ खेलमा ५२ रनमात्र बनाउन सके पनि उनी हङकङका उत्कृष्ट ब्याट्सम्यान हुन् । उनले नेदरल्यान्ड्ससँगको अभ्यास खेलमा ८५ रन बनाएका थिए । स्कटल्यान्डसँग शून्यमा आउट भएका रथले अफगानिस्तानसँग ६५ र जिम्बावेसँग ८५ रन बनाएका थिए ।

नेपाल हङकङसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पराजित भएको थियो । अक्टोबरमा हङकङमा भएको पहिलो खेलमा घरेलु टोली ११९–७ को स्थितिमा पुगिसकेको थियो । पछि १ सय ९४ रन बनाएको हङकङले नेपाललाई १ सय ११ रनमा अलआउट गर्दै खेल ८३ रनले जितेको थियो । २०१४ को विश्वकप छनोटमा नेपाललाई हङकङले १० विकेटले पराजित गरेको थियो, जुन नेपालको अहिलेसम्मकै लज्जास्पद पराजयमा पर्छ । पछिल्लो विश्वकप छनोट र च्याम्पियनसिपका बीचका एसीसी प्रिमियर लिग र इमर्जिङ टिम्स कपका दुई खेलमा नेपालले हङकङमाथि जित हात पारेको थियो । यसै प्रतियोगिताको विश्वकप छनोटमा नेपाल र हङकङबीचको अभ्यास खेल वर्षाले एक बल पनि नफाली रद्द भएको थियो ।

नेपालको वान–डे अन्तर्राष्ट्रिय मान्यताको सम्भावना
१.नेपालले हङकङलाई ठूलो अन्तरमा हराउने र अफगानिस्तानभन्दा माथि रहँदै प्ले–अफमा जाने । यस्तोमा नेपालले पहिले ब्याटिङ गरेमा हङकङलाई २ सयभन्दा बढी रन अन्तरमा हराएमा मात्र प्ले–अफमा जान सक्छ । प्ले–अफमा पुगेमा नेपालको वान–डे अन्तर्राष्ट्रिय मान्यता निश्चित हुनेछ ।
२.नेपालले सोमबारको खेलमा जित हात पारेमा हङकङभन्दा माथि रहनेछ र अफगानिस्तान तेस्रो टोलीका रूपमा समूह ‘बी’ बाट सुपर सिक्समा पुग्नेछ । यस्तोमा नेपाल र हङकङ प्ले–अफमा झर्नेछन् । प्ले–अफमा हङकङ र पपुवा न्युगिनीभन्दा माथि रहेमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउँछ ।
३.हङकङसँग पराजित भएमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउन र डिभिजन २ मा झर्नबाट रोकिन समूह ‘ए’ को नतिजा कुर्नुपर्छ । समूह ‘ए’ को सोमबार हुने अन्तिम दिनको खेलमा नेदरल्यान्ड्सले वेस्ट–इन्डिजलाई र आयरल्यान्डले यूएईलाई ठूलो अन्तरमा पराजित गरेमा यूएई पनि प्ले–अफमा झर्नेछ । प्ले–अफमा यूएई र पपुवा न्युगिनीभन्दा माथि रहेमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।
-साभार: कान्तिपुर दैनीक

Leave a Reply

Your email address will not be published.