इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सलाई

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा विराटनगरद्वारा भैरहवा ग्लाडिएटर्स १ रनले पराजित भयो। जितका लागि १५० रनको लक्ष्य पाएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १४८ रन मात्र बनायो।

भैरहवालाई जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको भए पनि अनिल साहले ४ बलमा २ विकेट लिँदै विराटनगरलाई जिताए।

साहले अन्तिम ओभरको दोश्रो बलमा कृष्ण कार्कीलाई ५ रनमा आउट गरे। उनको चौथो बलमा भुवन कार्कीलाई कप्तान पारस खड्काले खाता नै खोल्न नदिई रन आउट गरे। पाँचौ बलमा पुनित मिश्र पनि खाता नै नखोल्दै साहकै बलमा आउट भएपछि विराटनगरलाई जित सहज भयो। अन्तिम बलमा भुपेन्द्र थापाले ३ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन।

भैरहवाका लागि कप्तान शरद भेषावकर विष्फोटक व्याटिङ गर्दै ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। ३९ बलमा उनले ४ चौका र ४ छक्का हाने। प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन बनाए तर पुछारका ब्याट्सम्यान चल्न नसक्दा भैरहवा पराजित भयो।

यसअघि कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो । विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान पारस खड्काले २७, अनिल साहले २२ र प्रनित थापा मगरले १६ रन बनाए ।

बाबर हायत ११, आशिफ शेख ७ रनमा आउट भए भने करण केशी ९ र वसन्त रेग्मी ३ रनमा नटआउट रहे । भैरहवाका लागि कृष्ण कार्की र हरिशंकर साहले समान २ तथा शरद भेषावकर र आरिफ शेखले समान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published.