पोखरालाई पराजित गर्दै ललितपुर इपीएलको प्लेअपमा

ललितपुर प्याट्रिओटसले पोखरा राइनोजलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपीएल) को प्लेअपमा स्थान बनाएको छ। मंगलबार भएको लिग चरणको अन्तिम खेलमा ललितपुरले पोखरालाई ४ विकेटले पराजित गर्दै प्लेअफ पुग्ने चौथो टिम बनेको हो।

लिग चरणमा पोखरा र ललितपुरले खेलेका ५ मध्ये समान २-२ खेलमा जितमा हात पार्दै ४ अंक जोडे।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा १३२ रन बनाएको थियो। पोखराका लागि ओपनर सुनिल धमलाले अन्त्यसम्म खेल्दै नटआउट ७० रनको योगदान गरे। ६२ बल खेलेका धमलाले २ चौका र ५ छक्का प्रहार गरे। यस्तै राजेश पुलामी मगरले ३२ तथा विनोद भण्डारीले १२ रन जोडे।

दिपेश भण्डारी, रसिद खान, ललित नारायण राजवंशी र सन्दीप लामिछानेले १-१ विकेट लिए।

जयकिसन कोल्सावालाको अर्धशतक प्रेरित ललितपुरले अन्तिम ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। कोल्सावाल र शंकर रानाले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै ललितपुरको जितको आधार खडा गरेका थिए।

कोल्सावालाले ५६ रन बनाए भने शंकरले ३५ रन जोडे। कप्तान ज्ञानेन्द्र मल्लले १७ बलमा १ चौका र ज्ञ छक्काको मद्दतमा नटआउट २७ रनको योगदान गरे। पोखराका इस्रारउल्लाहले २ तथा कप्तान शक्ति गौचन र सुशन भारीले १-१ विकेट लिए।

अब एलिमिनेटरमा बुधबार ललितपुर र पोखराबीच नै खेल हुनेछ। उक्त खेलको विजेता दोस्रो क्वालिफायर्सका लागि छनोट हुनेछ। पराजित टोली भने बाहिरिनेछ। पहिलो क्वालिफायर्समा बुधबारै विराटनगर र भैरहवाबीच खेल हुनेछ। यस खेलको विजेता फाइनल पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर्स खेल्ने मौका पाउनेछ।

Leave a Reply

Your email address will not be published.