चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा क्वालिफायर्समा प्रवेश

एभरेष्ट प्रिमियर लिग (इपीएल) को क्वालिफायर्समा प्रवेश गर्ने दोस्रो टिम भैरहवा ग्लाडिएटर्स बनेको छ। मंगलबार भएको खेलमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले पहिलो क्वालिफायर्समा विराटनगर वारियर्ससँगको भेट पक्का गरेको हो।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको ‘लो स्कोरिङ’ खेलमा चितवनले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो। जुन जारी प्रतियोगितामा अहिलेसम्मकै कम स्कोर हो। जवाफमा ८८ रनको सामान्य लक्ष्य भैरहवाले १८.३ ओभर ६ विकेट गुमाएर पूरा गर्‍यो।

चितवनका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले १५-१५ रन बनाए भने आकाश थापाले ११ रन जोडे। ललितसिंह भण्डारी १३ रनमा नटआउट रहे। खेलको दोस्रो ओभरमै ओपनर सन्दीप सुनार शुन्यमा आउट भएपछि निरन्तर विकेट गुमाएको चितवनले पूरै २० ओभर खेलेपनि धेरै रन बनाउन सकेन। चितवनलाई कम स्कोरमा रोक्न भैरहवाका कप्तान शरद भेषावकरले ३ तथा हरीशंकर शाह तथा भुवन कार्कीले समान २ विकेट लिए।

जवाफमा ८८ रनको सामान्य लक्ष्य पछ्याएको भैरहवाको पनि सुरुवात राम्रो हुन सकेन। भैरहवाका ओपनरद्वय प्रथम सालुन्के (०) पहिलो ओभरमा आउट भए भने प्रदिप ऐरी दोस्रो ओभरमा १ रन बनाएर आउट भए। यस्तै भुपेन्द्र थापाले १३ जोडेर आउट भए। चौथो विकेटका लागि रोहित पौडेलले र पुनित मेहराले ४८ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। भैरहवाको जितमा पुनित मेहराले ३० तथा रोहितले २० रनको योगदान गरे। कप्तान शरद भेषावकर ८ रनमा आउट भए। कृष्ण कार्की ९ रनमा नटआउट रहे।

बलिङमा चितवनका कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलमले २-२ विकेट लिए।

यता ५ खेलमा १ मात्र जित निकालेको चितवन भने अंकतालिकाको पूछारमा रहेर लिग चरणबाटै बाहिरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *