युएईद्वारा नेपाल ७ विकेटले पराजित

आइसिसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपमा युएईद्वारा नेपाल ७ विकेटले पराजित भएको छ। नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

युएईको जितमा घुलाम सबीरले नटआउट ८१, रोहन मुस्ताफाले ६२ र रमित शाहजदले ३७ रनको योगदान दिए । नेपालका शरद भेषावाकर र सन्दीप लामिछानेले एक एक विकेट लिए।

युएईको आवुधावीमा यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ८१ रनको योगदान दिए । तेश्रो नम्बरमा व्याटिङ गर्न आएका शरदले अन्तिमसम्म ९५ बलको सामाना गर्दै ५ चौका समेत प्रहार गरे । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ६ चौका प्रहार गर्दै ५४ रन बनाए । ओपनर दिलिपनाथ १६ रनमा आउट भए पनि शरद र ज्ञानेन्द्रले दोश्रो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

ज्ञानेन्द्र आउट भएपछि क्रिजमा आएका कुनै पनि व्याट्सम्यानले शरदलाई भरपर्दोसँग साथ दिन सकेनन् । कप्तान पारस खड्का २०, आरिफ शेख शुन्य, विनोद भण्डारी ४ रनमै पेभेलिएन फर्केपछि नेपालको इनिङ धराशयी भएको थियो।

तर सातौँ नम्बरमा व्याटिङ गर्न आएका सोमपाल कामीले भने १९ बलमा ३ चौकासहित २० रन बनाए । उनी आउट हुँदा नेपालको स्कोर १ सय ८१ रन थियो । सोमपाल आउट भएपछि क्रिजमा आएका बसन्त रेग्मीले अविजित १४ रन बनाएपछि नेपालले २ सय २१ रनको मध्यम योगफल तयार पारेको थियो। नेपाललाई आजको खेल हारे पनि कुनै असर परेको छैन।

नेपाल र युएई बिच शुक्रबार दोश्रो खेल हुनेछ । च्याम्पियनसिपको शीर्ष ४ टीममा पर्ने सम्भावना सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *