आर्मीलाई काँकडभिट्टा गोल्डकपको उपाधि

विभागीय टोली नेपाल आर्मीले मनाङ-मर्स्याङ्दीलाई पराजित गर्दै मेची नेत्रालय काँकडभिट्टा गोल्डकप च्याम्पियन बनेको छ।

पहिलो हाफको २० मिनेटजति मनाङको कडा दबाब सामना गरेको आर्मी त्यसपछि अन्तिम समयसम्म मनाङविरुद्ध आक्रामक बन्यो । ‘सुरुआतमा सेट मिलाउन समस्या भयो’, आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने,‘पहिलो हाफको २० औं मिनेटपछि बल्ल लय समात्यौ’।

प्रतियोगितामा आर्मीले उत्कृष्ट प्रशिक्षकसहित ५ विधामा उपाधि जित्यो। नवीन न्यौपानेले उत्कृष्ट प्रशिक्षक बन्दै २० हजार जिते। त्यस्तै वेस्ट गोलरक्षकको उपाधि आर्मीकै विकेश कुथु भए। उनले २० हजार जिते। आर्मीका दिनेश हेन्जन सर्वाधिक गोलकर्ता बन्दै २५ हजार जिते। वेस्ट फरवार्डको उपाधि आर्मीका कप्तान भरत खवास बने। उनले २० हजार पाए। आर्मीकै विकास खवासले फाइनल खेलको म्यान अफ दि म्याच बन्दै १० हजार पाए।

प्लेयर्स अफ दि टुर्नामेन्ट बने मनाङका गोलरक्षक दिनेश थापा मगर। उनले ५१ हजार जिते । त्यस्तै मनाङका विशाल राईले उत्कृष्ट मीडफिल्ड बन्दै २० हजार पाए । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका भूषण लिम्बू वेस्ट डिफेन्स र सोही क्लबका मिलन राई राइजिङ प्लेयर बन्दै नगद २०/२० हजार जिते।

आर्मीले उपाधिसहित नगद ८ लाख १ हजार जित्यो। मनाङले ४ लाख १ हजार पायो । सताक्षी गोल्डकपमा पनि मनाङ टाइव्रेकरमै आर्मीसँग पराजित भएको थियो।

विजेता तथा उपविजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले पुरस्कार प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *