मनाङ-मर्स्याङ्दीले काँकडभिट्टालाई पराजित गर्दै फाइनलमा प्रवेश, फाइनल खेल शुक्रबार आर्मीसँग

झापामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ-मर्स्याङ्दी क्लबले काँकडभिट्टालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

बुधबार काँकडभिट्टा माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ‘सडनडेथ’मा पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेको हो।

बुधबार निर्धारित् ९० मिनेटको समयमा खेल गोलरहित बराबरी भएपछि निर्णयका लागि सीधै ‘टाइब्रेकर’ मा लगिएको थियो।

आयोजक टोलीका प्रकाश बुढाथोकी, निराजन खड्का, सरोज दाहाल र हेमन्त थापाले गोल गरे भने निशान लिम्बूको प्रहार गोलरक्षक दिनेश थापाले बचाए। सडनडेथमा मनाङका विमल घर्तीमगर, विराज महर्जन, विशाल राई, अनन्त तामाङले गोल गरे।

खेलको ‘म्यान अफ द म्याच’ मनाङका हेमन गुरुङ घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

अब मनाङले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुनेछ।

विजेताले ८ लाख १ हजार पुरस्कार पाउनेछ । उपविजेताले ४ लाख १ हजार पुरस्कार पाउने छ।

Leave a Reply

Your email address will not be published.