मनाङलाई पराजीत गर्दै दोस्रो सताक्षी गोल्डकपको उपाधि आर्मीलाई

सबिन शेर्मा, झापा

विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापामा सम्पन्न दोस्रो सताक्षी गोल्डकप फुटबलको उपाधि हात पारेको छ । आर्मीले आज (बिहीबार) फाईनलमा मनाङ मस्र्याङी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। आर्मीका लागि नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्कीले गोल गरेका थिए ।

४४ औं मिनेटमा आर्मीका नवयुगको गोल विवादमा परेपछि फाइनल खेल ५० मिनेट अवरुद्ध बनेको थियो । मैदानको मध्य भागबाट एक्लै अघि बढाउँदै लगेको बलमा नवयुगले गोल गरेका थिए । तर, मनाङले उक्त गोल नभएको भन्दै विरोध जनायो । नवयुगको प्रहार गोलपोस्ट बाहिरबाट गएको दाबी गरिएको थियो । आर्मीले भने जाली च्यातिएकाले गोल भएर बल बाहिरिएको जस्तो मात्र देखिएको दाबी गरेको थियो । यद्यपि रेफ्रीले उक्त गोललाई मान्यता दिएको थियो ।

त्यसअघि १८ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मनाङका सुल्लाह सुलेमानले आर्मीका नवयुगलाई पेनाल्टी बक्स नजिकै फाउल गरेपछि प्राप्त फ्रिकिकमा प्रिन्सले गोल गरेका हुन् ।

अवरुद्ध भएपछि पुन सुरु गरिएको खेलको ६४ औं मिनेटमा मनाङका कप्तान अनिल गुरुङले गोल गरेका थिए । उनले डोना थापाको पासमा हेडमार्फत गोल गरेका हुन् ।

उपाधि जितेको आर्मीले ५ लाख तथा उपविजेता मनाङले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मनाङका विशाल राईले पाए । उनले नगद ५० हजार रुपैयाँ पाए । व्यक्तिगत तीन गोल गरेका आर्मीका नवयुग श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार थापे । उनले २५ हजार रुपैयाँ पाए ।

उत्कृष्ट डिफेन्डर आर्मीका सुमन अर्याल, मिडफिन्डर मनाङका डोना थापा, फरवार्ड आर्मीका जर्ज प्रिन्स कार्की भए । उनीहरूले जनही २० हजार रुपैयाँ पाए । उत्कृष्ट प्रशिक्षकको पुरस्कार आर्मीका नवीन न्यौपाने भए । उनले २० हजार पुरस्कार पाए । उत्कृष्ट टिमको पुरस्कार आयोजक सतासीधाम स्पोर्टिङ क्लबले पायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *