दुर्गा र रेशु नेपालगन्ज म्याराथनको च्याम्पियन

जुम्लाका दुर्गाबहादुर बुढाले तेस्रो नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । दुर्गाबहादुरले मंगलबार २ घण्टा २६ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै उपाधिसँगै ५५ हजार रुपैयाँ पुरस्कार हात पारे । अन्य शीर्ष आठभित्र विभागीय टिमका खेलाडीले सफलता पाए ।

दुर्गाबहादुरले दुई दिनअघि मात्र १ घण्टा ३ मिनेटमा दौड पूरा गर्दै दिल्ली इन्टरनेसनल एयरटेल हाफ म्याराथन जितेका थिए ।

महिला हाफ म्याराथनतर्फ आर्मी क्लबकी रेशु बस्नेत विजयी भइन् । उनले १ घण्टा २४ मिनेट ४५ सेकेन्डमा २१ किलोमिटर दूरी पार गरिन् । उनले ३० हजार पुरस्कार जितिन् ।

म्याराथनतर्फ आर्मीका खड्गबहादुर खड्का २ घण्टा २७ मिनेट २० सेकेन्डबाट दोस्रा र एपीएफका गणेशसिंह ठकुरीले २ घण्टा २८ मिनेट ३५ सेकेन्डबाट तेस्रो स्थान हात पारेका थिए । उनीहरूले क्रमश: २५ हजार र १५ हजार पुरस्कार पाए ।

एपीएफका किरण बोगटी चौथो, खिमबहादुर खत्री पाँचौं र आर्मीका मोहनदेव जोशी छैटांै भएका थिए । आर्मीका नवराज साउद र राजकुमार विष्ट सातौं र आठौं स्थानमा परे । शीर्ष आठ स्थानका विजेतालाई पुरस्कृत गरिएको थियो ।

हाफ म्याराथनमा आर्मीकी चन्द्रा राउतले १ घण्टा २८ मिनेट ६ सेकेन्डबाट दोस्रो र एपीएफकी कृष्णेश्वरी सिन्तकला १ घण्टा ३० मिनेट ७ सेकेन्डबाट तेस्रो भए । उनीहरूले १५ र १० हजार पुरस्कार पाए । सल्यानकी निर्मला ओली चौथो, दैलेखकी दीपाज्योति शाही पाँचौं र सल्यानकी निर्मला केसी छैटौं स्थानमा विजयी भए ।

‘शान्ति, सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मूल नारासहित विस्तृत शान्तिसम्झौता भएको मिति (मंसिर ५) को सम्झनामा क्रियटिभ ह्यान्ड्स ग्रुपले विगत तीन वर्षदेखि प्रतियोगिता गर्दै आएको छ । नेपालगन्ज रंगशालादेखि सुरु भई कोहलपुर चौराहादेखि आठ सय मिटर उत्तरतर्फ पुगी सोही रुट हुँदै पुन: रंगशालामा आएर दौड सकिएको थियो ।

यसपालि गत बर्षका विजेताको रेकर्ड भने तोड्न सकेनन् । दोस्रो संस्करणमा आर्मीका कृष्ण
बस्नेतले २ घण्टा २६ मिनेट ४० सेकेन्ड तथा महिला हाफ म्याराथनतर्फ एपीएफकी कान्छीमाया कोजूले १ घण्टा २३ मिनेट २४ सेकेन्डको टाइमिङ बनाएका थिए ।

५ किमि छात्र दौडमा जुम्लाका नरेश बुढा विजयी भए । जुम्लाकै विवेक कठायत दोस्रो र बाँकेका अरबिन्द क्षेत्री तेस्रो भए । सोही दूरीमा छात्रातर्फ जुम्लाकी राममाया बुढा विजयी हुँदा जुम्लाकै अमृता भण्डारी दोस्रो र सल्यानकी चन्द्राकुमारी घर्ती तेस्रो भए । अपांगता भएका लागि आयोजित एक किलोमिटर ट्राइसाइकल दौडमा कमल बुढा पहिलो, नन्कु थारु दोस्रो र दीपक दराई तेस्रो भए ।

सबै इभेन्टमा गरी करिब ६ सय ५० भन्दा बढीको सहभागिता रहेको जनाइएको छ । प्रतियोगितालाई आगामी वर्षहरूमा थप परिस्कृत, व्यवस्थित र व्यावसायिक बनाउँदै लगिने आयोजक संस्थाका अध्यक्ष टीएस ठकुरीले बताए ।

२०७४ कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *