एन्फाले जिल्ला संघहरुलाई कात्तिक २५ गतेदेखि मंसिर २५ गते भित्र अधिवेशन गर्न निर्देशन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला संघहरुलाई कात्तिक २५ गतेदेखि मंसिर २५ गते भित्र अधिवेशन गर्न निर्देशन दिएको छ।

एन्फा कम्लेक्स सातदोबाटोमा आज बसेको एन्फाको कार्य समिति बैठकले मंसिर २५ गतेभित्र जिल्ला अधिवेशन गर्न जिल्ला संघहरुलाई भनेको हो। एन्फामा ४५ वटा जिल्ला संघ आवद्ध छन्। जिल्ला संघको अधिवेशनबाट जिल्ला संघको कार्यसमितिका साथै माघमा हुने एन्फाको साधारणसभाका प्रतिनिधि चयन गरिने छ।

बैठकले माघमा हुने एन्फाको चुनावका लागि निर्वाचन समिति पनि गठन गरेको छ। अधिवक्ता सुमन केसी नेतृत्वको निर्वाचन समितिमा लक्ष्मण थापा, राजुभाइ मानन्धर, विजय बस्नेत र सागर केसी सदस्य छन्। यो समितिले माघ ११ गते एन्फाको नयाँ कार्य समितिको चुनाव गराउने छ।

एन्फाको विशेष साधारण सभाले यसअघि नै विधान संशोधन गर्दैै फुटबल क्षेत्रमा लागेको जो सुकै व्यक्ति पनि अध्यक्ष वा कार्य समितिको सदस्यमा उठ्न पाउने व्यवस्था गरेको छ।

यस्तै एन्फाले अधिवक्ता मोतिराम गौतमको संयोजकत्वमा निर्वाचन पुनरावेदन समिति पनि गठन गरेको छ। निर्वाचन पुनरावेदन समितिमा बालकृष्ण श्रेष्ठ, सूर्यनारायण अधिकारी, प्रकाश रावल, गंगा सागर सदस्य छन्। यो समितिलाई एन्फाको चुनावका क्रममा कुनै विवाद भएमा त्यसलाई मिलाउने जिम्मेवारी छ।

यस्तै बैठकले थ्री स्टार क्लवलाई एएफसी क्लव च्यापिम्यनसिपमा सहभागी गराउन पहल गर्ने निर्णय पनि गरेको छ। एन्फाको लापरवाहीका कारण थ्री स्टार क्लवले एएफसी क्लव च्यापिम्यनसिप खेल्न पाएको थिएन। यो वर्ष कुनै लिग नभएका कारण पुरानो विजेताको हैसियतले थ्री स्टारलाई आउँदो एएफसी क्लव च्यापिम्यनसिपमा सहभागी गराउने निर्णय एन्फाले गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *