पहिलोपल्ट अन्तर्राष्ट्रिय कबड्डी हुँदै

तुलसी थापाको अध्यक्षतामा रहेको अखिल नेपाल कबड्डी संघले चार देशका टिमले प्रतिस्पर्धा गर्ने ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता’ बिहीबारदेखि आयोजना गर्ने भएको छ ।

आयोजक नेपाल, बंगलादेश र श्रीलंकाको राष्ट्रिय टिम तथा भारतको ‘बी’ टिमले प्रतिस्पर्धा गर्ने संघका महासचिव विनोद प्रजापतिले बताए । ‘भारतमा प्रो कबड्डी लिग भइरहेकाले त्यहाँका राष्ट्रिय टिम ल्याउन सम्भव भएन र उसको बी टिम सहभागी हुने भएको हो,’ उनले भने, ‘नेपाल, बंगलादेश र श्रीलंकाको भने राष्ट्रिय टिमले नै प्रतिस्पर्धा गर्नेछन् ।’

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा चल्नेछ । यसमा एकअर्काविरुद्ध एक–एक खेल खेल्नुपर्नेछ । लिगमा सर्वाधिक अंक जोड्ने टिम नै च्याम्पियन बन्नेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा तीन दिन चल्ने स्पर्धामा ६ खेल हुनेछ ।

मुख्य प्रशिक्षक तारासिंह भाट र सहायक प्रशिक्षक विष्णुदत्त भट्टले १४ सदस्यीय नेपाली राष्ट्रिय टिमको छनोट गरेको जनाइएको छ । ‘सातौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका र त्यसमा छुटेका गरी प्रारम्भिक चरणमा २६ खेलाडी छनोट गरियो ।

त्यसपछि एक महिने बन्द प्रशिक्षणबाट १४ खेलाडी चयन गरिएको हो,’ सहायक प्रशिक्षक भट्टले भने, ‘बंगलादेश र श्रीलंकासँग कठिन प्रतिस्पर्धा गर्दै पदक जित्ने लक्ष्य बनाएका छौं ।’

आयोजनामा करिब २० लाख रुपैयाँ खर्च हुने बताइएको प्रतियोगिताबारे संघका अध्यक्ष थापाले भनिन्, ‘नेपालमा कबड्डी एकदमै पुरानो खेल हो र यसलाई अन्तर्राष्ट्रिय तहमा पुर्‍याउँदै पहिचान बनाउने अभियानका लागि पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता गरिएको हो ।’

२०७४ कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *