युनाईटेड कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौंलाई

जिल्लाको हुप्सीकोट गिरुबारीमा सम्पन्न ३३ औं युनाईटेड कप फुटबल प्रतियोगिताको उपाधि बसन्त आदर्श युवा क्लब काठमाडौंले जितेको छ ।

नमुना युवा समाज मध्यविन्दुलाई १ का विरुद्ध दुई गोल गर्दै उपाधि हात पारेको हो । काठमाडौंका लागि कमल थापाले खेलको सुरुआती १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २ जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको नमुना समाजलाई काठमाडौंले निरन्तर दबाबमा राखेको थियो । दोस्रो हापको ५ औं मिनेटमा काठमाडौंका अनिल गुरुङले थप एक गोल गरेर टिमलाई अग्रता दिलाए थिए । नमुना समाजका लागि दोस्रो हापको १४ औं मिनेटमा विमल रानाले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।

युनाइटेड युवा क्लब गिरुबारीको आयोजनामा भदौ २ गतेबाट सुरु भएको खेलमा उपाधि विजेता आदर्श युवा समाजले सिल्ड प्रमाणपत्र र ट्रफ्रीसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको नमुना समाजले सिल्ड प्रमाणपत्र र ट्रफ्रीसहित ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गऱ्यो ।

विजयी खेलाडी र टिमलाई प्रमुख अतिथि नेपाली कांग्रेसका नेता विष्णु कार्कीले पुरस्कार प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी नमुना युवा समाज सिम्रनीका सरोज थापा र सर्वाधिक गोलकर्ता डिही फुटबल क्लब नवलपरासीका सुधन थापा घोषित भए । दुवैले नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी, काठमाडौंलगायतका जिल्लाबाट बीस टिमको सहभागिता रहेको आयोजक युनाइटेड युवा क्लब गिरुवारीका अध्यक्ष हरि थापाले जानकारी दिए । ग्रामीण स्तरमा फुटबल खेलको प्रवर्द्धन र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विगत ३३ वर्षदेखि प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको छ ।

२०७४ कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *