थ्री स्टारलाई डेढ करोड क्षतिपूर्ति

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले बिहीबार दोषीलाई कारबाही नगरी थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप १ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

एन्फाको अघिल्लो बैठकमै सबै सदस्य थ्रीस्टारलाई क्षतिपूर्ति दिन सहमत भएका थिए । तर उपाध्यक्ष वीरबहादुर खडा, सदस्य पंकज नेम्वाङलगायतले दोषीलाई पनि कारबाही गर्नुपर्ने माग गरेपछि बैठन निर्णयमा पुग्न सकेको थिएन । नेम्वाङले पुन: दोषीलाई कारबाही गरेपछि मात्र क्षतिपूर्ति दिनुपर्ने कुरा उठाए पनि बहुमतका आधारमा थ्रीस्टारलाई क्षतिपूर्ति दिने निर्णय भएको थियो । असोज २४ मा हुने विषेश साधारणसभाबाट अनुमोदन गरेपछि थ्रीस्टारलाई क्षतिपूर्ति उपलब्ध गराउने एन्फाले जनाएको छ ।

एन्फाले टिम दर्ता नगर्दा थ्रीस्टार एएफसी कप छनोटको प्ले–अफ खेल्न वन्चित भएको थियो । त्यसपछि उसले ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र एन्फामा निवेदन दिएको थियो । त्यसयता उसले प्रतियोगिता पनि बहिष्कार गर्दै आएको छ ।

लिगमा १६ टिम

कार्यसमिति बैठकले मोफसलका चार टिमसहित १६ क्लबलाई ‘ए’ डिभिजन लिगमा सहभागी गराउने निर्णय गरेको छ । होम एन्ड अवेका आधारमा मंसिर १४ देखि हुने लिगमा पछिल्लोपल्ट राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरेका झापा ११, मोरङ, लुम्बिनी र सुदूरपश्चिमलाई सहभागी गराउने निर्णय गरिएको हो । ती टिमसँगै थ्रीस्टार, मनाङ–मस्र्याङदी, फ्रेन्ड्स, आर्मी, पुलिस, एपीएफ, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज र जावलाखेलले लिगमा प्रतिस्पर्धा गर्नेछन् । बैठकले साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता नेपाली टिमका खेलाडी, प्रशिक्षक, फिजियोलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय पनि गर्‍यो ।

२०७४ कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published.