भुटानलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

एसिसी यू–१९ एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत नेपालले भुटानलाई ९ विकेटले हराएको छ । भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ अोभर ३ बलमा एक विकेट जाँदा पूरा गरेको हो ।

मलेसियामा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो । भुटानका लागि युग्येन दोर्जीले ४३ बलमा १३ रन साथै टासी फुन्टशोले ६५ बलमा १६ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका दिपेन्द्र सिंह ऐरीले पाँच, सन्दिप लामिछानेले चार साथै नन्दन यादवले एक विकेट लिएका छन् । नन्दनले तेस्रो ओभरमा भुटानका ओपनर जीवन घल्लेलाई एक रनमा आउट गरेका हुन् ।

नेपालले ८.३ ओभरमा लक्ष्य प्राप्त गरेको थियो । नेपालका लागि सन्दिप सुनारले २६ बलमा २१ रन, अाशिफ शेखले २१ बलमा अविजित २३ रन साथै अनिल कुमार शाह ५ बलमा ४ रन अविजित रहे । भुटानका लागि एकमात्र सफलता छिरिङ पेन्जोरले लिए ।

समुह ‘ए’ मा रहेको छ नेपाल र सिंगापुरले लगातार २ जित हासिल गरेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपाल र सिंगापुरबीच बिहिबार हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ । पूर्व क्षेत्रको फाइनलमा पुग्ने दुई टोलीले एसिसी एसिया कप यू १९ मा प्रवेश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *