आठौं राष्ट्रिय खेलकुदको मस्कट- हात्तीको छावा

नेपालगन्जमा अर्को वर्ष हुने आठौं राष्ट्रिय खेलकुदका लागि मस्कट (प्रतीक चिन्ह) को घोषणा गरिएको छ । प्रतियोगिताका लागि हात्तीको छावालाई मस्कट बनाइने भएको हो । नेपालगन्जमा आयोजित सोमबार कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले मस्कटको घोषणा गरे ।

प्रदेश नम्बर ५ तथा मध्यपश्चिम क्षेत्रमा छावाको प्रवद्र्धन गर्न मस्कटमा समावेश गरिने गरिएको छ । मध्यपश्चिमान्चल खेलकुद विकास समितिका अनुसार खेलकुद र प्राकृतिक सम्पदाको संरक्षणका लागि ठूलो प्रतियोगिताहरूमा प्रतीक चिन्ह समावेश गर्ने गरिन्छ ।

राष्ट्रिय प्रतियोगिताको प्रतीक चिन्हका रूपमा सार्वजनिक गरिएपछि हात्तीको छावा प्रवद्र्धनमा टेवा पुग्ने समितिका अध्यक्ष भीम ओलीले बताए । राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालको अध्यक्षतामा बसेको आठौं खेलकुद तयारी तथा भौतिक पूर्वाधार कार्यदलको बैठकको निर्णयअनुसार मस्कट खेलकुदमन्त्री केसीले घोषणा गरेका हुन् ।

मन्त्री केसीले समयमै आठौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न सरकारले सबै तयारी पूरा गर्ने बताए । उनले खेलकुद हुने सम्भावित स्थलहरू नेपालगन्ज रंगशाला, कोहलपुर क्रिकेट मैदान र बर्दिया खेल मैदानको निरीक्षण गरे । ‘पूर्वाधार निर्माणका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । सरकारले बजेट दिने हो । निर्धारित समयमा सबै पूर्वाधार निर्माण हुनेछन् । जसका लागि पर्याप्त बजेट विनियोजन हुनेछ,’ मन्त्री केसीले भने, ‘स्थानीयको पनि पूर्वाधार निर्माणमा चासो हु्नु जरुरी छ । स्थानीयको चासो भए पूर्वाधार बलियो र दिगो हुन्छ ।’

मन्त्री केसीले नेपालगन्जलाई खेलकुद सहर बनाउन पहल गरिने प्रतिवद्धता जनाए ।

सरकारले राष्ट्रिय खेलकुदका लागि १ अर्ब ५ करोड रकम विनियोजन गरेको मन्त्री केसीको भनाइ छ । त्यसमध्ये भौतिक पूर्वाधार निर्माण गर्न ७० करोड र खेलकुद सञ्चालन गर्न ३५ करोड रकम बिनियोजन गरिएको छ । ‘कुनै कारणले तयारीका लागि बजेट अपुग भएमा बजेट थप गर्न पहल गर्नेछु,’ मन्त्रीले भने ।

२०७४ कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published.