मनोहर र सुलप एसबीएलमा अनुबन्धित

नेपाली खेलाडी मनोहर (म्याक्स) बस्नेत र सुलप मगर सुपर बक्सिङ लिग (एसबीएल) मा दुई वर्षका लागि अनुबन्धित भएका छन् । यसपालि मुम्बईमा सम्पन्न पहिलो संस्करणमा गरेको प्रदर्शनका आधारमा यी दुईले थप अवसर पाएका हुन् ।

यसपालि मनोहरले पन्जाब सुल्तान्स र सुलपले यूपी टर्मिनेटर्सबाट एसबीएलको लिग चरणमा एक–एक खेल खेलेका थिए । उनीहरूको टिम सेमिफाइनल पुग्न असफल भए पनि एसबीएलले दुवैलाई अनुबन्ध थप गरेको हो ।

‘एसबीएलले हामीलाई दुई वर्षका लागि सम्झौता गरेको छ । सम्झौताअनुसार एसबीएल ६–६ महिनामा हुनेछ र त्यसमा फ्रेन्चाइज टिमबाट हामीले प्रतिस्पर्धा गर्नुपर्छ । यसलाई नेपाली बक्सिङजगतकै लागि ठूलो उपलब्धि मान्नुपर्छ,’ गत साता स्वदेश फर्किएका मनोहरले भने, ‘हामीले प्रतिफाइट ५ देखि ७ हजार डलर पाउने छौं । यसले नेपाली बक्सरलाई पनि गाडी चढ्ने हैसियतमा पुर्‍याउन सक्छ ।’

पाकिस्तानी मूलका बेलायती बक्सर आमिर खान (एथेन्स ओलम्पिक २००४ मा रजत पदक जितेका) र ब्रिटिस बिजनेस टाइकुन बिल डोसान्जले प्रोफेसनल बक्सिङ अर्गनाइजेसन इन्डिया (पीबीओआई) ले वल्र्ड बक्सिङ काउन्सिल (डब्लूबीसी) सँगको सहकार्यमा भारतमा पहिलोपल्ट सुपर बक्सिङ लिग (एसबीएल) आयोजना गरेका हुन् । यसमा मनोहर र सुलपले नेपालबाट गएर खेले । नेपालका आशा रोक्का र वसन्त थापा सेमिफाइनल पुगेका छन् ।

श्रावण २६, २०७४

कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published.