नयाँ प्यारापिट बन्दै पोखरा रंगशालामा

पोखरा रंगशालामा जीर्ण भएका दुई प्यारापिट भत्काएर नयाँ बनाइने भएको छ । पुरानो, नियमित मर्मत सम्भारको अभाव तथा भूकम्पले समेत जीर्ण बनेको प्यारापिट जोखिमपूर्ण अवस्थामा पुगेकै बेला नयाँ बनाउन लागिएको हो ।

भत्काएर नयाँ बनाउनका लागि खेलकुद मन्त्रालयले क्षेत्रीय खेलकुद विकास समितिमार्फत बजेट व्यवस्था गरेको छ । रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ८५ करोड रुपैयाँ लाग्ने अनुमान गरेकामा मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५ का लागि २५ करोड उपलब्ध गराएको छ । उक्त रकमले पुरानो प्यारापिट भत्काउने र नयाँको सुरुआत गरिने समितिले जनाएको छ । ‘डीपीआरले अनुमान गरेको बजेट दिन मन्त्रालयले सहमति जनाएको छ । बहुवर्षीय योजना भएकाले बर्सेनि बजेट छुट्टिएर दुई वर्षमै काम सम्पन्न हुनेछ,’ समितिका अध्यक्ष खगराज पौडेलले भने, ‘दुई तीन दिनपछि नै जीर्ण प्यारापिट भत्काउँछौ । टेन्डर आहान गरी नयाँ निर्माणको काम थाल्छौं ।’ नयाँ प्यारापिट अन्तराष्ट्रियस्तरको अत्याधुनिक बन्नेछ । बजेट प्यारापिटमा मात्र नभएर पोखरा रंगशालामा आवश्यक अन्य भौतिक पूर्वाधार निर्माणमा पनि खर्च गरिनेछ । यसले रंगशालामा एसियाली स्तरका खेलकुद प्रतियोगिता गर्न सकिने उनले बताए ।

भूकम्पपछि विशिष्ट (भीआईपी) र दर्शकदीर्घाको प्यारापिटलाई प्राविधिकहरूले अति जोखिमपूर्ण भन्दै रातो स्टिकर टाँसेका थिए । दुवैतर्फ गरी ४ हजार ७ सय दर्शक अट्थे । अब रंगशालाको फुटबल मैदानको चारैतिर प्यारापिट बन्नेछ । यो काठमाडौंको दशरथ रंगशालाभन्दा पनि ठूलो हुनेछ । ‘काठमाडौंको क्षमता १८ हजार जति छ । यहाँ ३० देखि ३२ हजार दर्शक अट्ने गरी प्यारापिट बन्नेछ,’ क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले भने, ‘यो नेपालकै ठूलो हुनेछ ।’

दोस्रो बृहत् राष्ट्रिय खेलकुदका लागि २०३७ सालमा प्यारापिट बनेका थिए । जीर्ण हुँदै गएकाले मर्मत गर्नुपर्ने चौतर्फी आवाज उठिरहेका बेला भूकम्पले थप क्षति पुर्‍यायो । यसले मर्मत नभई पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको हो । नयाँ प्यारापिटमा ५ प्रवेशद्वार रहनेछ । साथै पर्याप्त शौचालय, खेलाडीका लागि छुट्टै कोठा, पत्रकार सम्मेलनस्थल, भीआईपी कक्षलगायत आवश्यक पूर्वाधार पनि बनाइने छ । निर्माण अवधिभर रंगशालामा खेल गतिविधि बन्द हुनेछ ।

२०७४ कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *