करोडौं ठगीको आरोपमा एन्फाका पूर्वमहासचिव शाही पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव र पूर्वराष्ट्रिय गोलकिपर लोकबहादुर शाही ५ करोडभन्दा बढी रूपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन् ।

यही मे १५ देखि २५ सम्म क्यानडाको टोरन्टोमा आयोजना हुने मैत्रीपूर्ण खेलमा सहभागी गराउने भन्दै २५ जना भन्दा बढी युवासँग रकम उठाएका थिए । उनले खेलमा सबैलाई लैजाने र प्रतियोगिता सम्पन्न भएपछि सबैलाई त्यहीँ छोड्ने सर्तमा हरेक खेलाडीबाट जनही २ लाख ५० हजार रुपैयाँ उठाएका थिए।

प्रहरीले शाहीलाई आज (बिहीबार) टोखाबाट पक्राउ गरेको हो। शाहीलाई पीडितमध्ये राजकुमार श्रेष्ठ, कमल भण्डारीको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

एसएसपी अमात्यले भने, रसिद दिएको बाहेक उजुरी कर्ताहरुमध्ये कतिपयले ७ देखि ९ लाख रुपैयाँ समेत बुझाएको बताएका छन् ।

एसएसपी अमात्यका अनुसार शाहीले क्यानडा पुगेपछि त्यही लुकेर काम गर्न सकिने आश्वासन शाही दिदै रकम उठाएका थिए । प्रतियोगितामा भाग लिन ललितपुरको कुसुन्ती युवा क्लबबाट खेलाडीको नाम दर्ता गराइएको थियो । शाहीले भनेको सयमा उडाउन नसकेपछि पीडितहरुले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए ।

लोकबहादुर शाही सन् १९८४ मा नेपाली राष्ट्रिय टोलीले दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जित्दा टोलीको सदस्य रहेका थिए । उनी झन्डै ५ बर्ष एन्फाको महासचिव रहेका थिए । १९९५ मा एन्फा पूर्नगठन हुँदा गणेश थापा अध्यक्ष र शाहीलाई महासचिवको जिम्मेवारी दिइएको थियो । उनलाई तीन वर्ष अघि एन्फाले सरदचन्द्र शाह स्मृति पुरस्कारबाट सम्मान गरेको थियो। उनी राप्रपा नेपालका पूर्व खेलकुद विभाग प्रमुख पनि हुन्।

करिब एक दशक अगाडि उनले ‘स्पोर्ट्स फर अल’ नामक संस्था दर्ता गरेर यसबाट विदेशमा हुने प्रतियोगितामा पूर्व तथा युवा खेलाडीलाई लैँजादै आइरहेका थिए। करिब ३ वर्ष अगाडि उनले नेपालमा कुनै पूर्वाधार नभएको आइस हकी संघ दर्ता गरेका थिए। जसलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छ।

Leave a Reply

Your email address will not be published.