डिपिएलको उपाधि धनगढी टिम चौराहालाई

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आज (शनिबार) भएको फाइनल खेलमा धनगढी टिम चौराहा विजयी भएको छ। धनगढी टिम चौराहाले विराटनगर किंग्सलाई ६२ रनले हराउँदै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । धनगढीका लागि आरिफ शेखले ३० बलमा ५४ रन, अमर रौतेलाले १५ बलमा अविजित ३१ रन, पारस खड्काले ३४ बलमा २९ रन बनाए । विराटनगरका सुशील कँडेलले दुई साथै जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकाश विष्टले एक एक विकेट लिएका थिए ।

१६० रनको लक्ष्य पछ्याएको विराटनगरले १८ ओभर १ बलमा सबै विकेट जाँदा ९७ रन मात्र बनाउन सक्यो । विराटनगरका अमित श्रेष्ठले २७ बलमा २६ रन, अनिल शाहले २१ बलमा १३ रन, दिपेन्द्र सिंह ऐरीले १४ बलमा १३ रन, प्रनित थापामगरले २२ बलमा २७ रन बनाए । धनगढीका सुशन भारीले तीन, आरिफ शेख र सौरभ खनालले दुई दुई साथै रामनरेश गिरी र ललित राजवंशीले एक एक विकेट लिए ।

प्रतियोगिताको विजेता धनगढीले १५ लाख साथै उपविजेता विराटनगरले साढे ७ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी विराटनगर किंग्सका सुशील कँडेल भएका छन् । उनले टिभिएसको अपाचे मोटरसाइकल पुरस्कार पाएका छन् ।उनी प्लेयर अफ द सिरिज पनि भएका छन् । यस्तै दोस्रो र तेस्रो रुपन्देही च्यालेन्जर्सका शाहब आलमले र कृष्ण कार्कीले भए। यस्तै विराटनगरका सन्दीप लामिछाने र धनगढी टिम चौराहका ललित राजवंशी चौथो र पाँचौं स्थानमा छन् । धनगढीका सौरव खनाल छैटौं स्थानमा छन् ।

धनगढीका कप्तान पारस खड्का सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा धनगढीका आरिफ शेख छन् । यस्तै तेस्रो स्थानमा अनिल मण्डलले र चौथो स्थानमा विराटनगर किंग्सका कप्तान शरद भेषावकर छन् । रुपन्देही च्यालेन्जर्सका प्रकाश केसी सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पाँचौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.