२०७३ मा खेलकुद जगतलाई फर्केर हेर्दा

हामीबाट २०७३ साल विदा भएको छ। अन्य क्षेत्रले जस्तै नेपाली खेलजगतले पनि वर्ष २०७४ साललाई स्वागत गर्दै छ। यो १ बर्ष अर्थात् १२ महिनाको अवधिलाई फर्किएर हेर्दा खेलकुद क्षेत्रमा निकै उतारचढाव देख्न सकिन्छ । जसमध्ये सातौं राष्ट्रिय खेलकुद र ओलम्पिक मुख्य रह्यो। जसमध्ये भलिबललाई २०७३ फाप्यो। नेपाली भलिबलले माल्दिभ्समा भएको सेन्ट्रल जोनल अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो कांस्य पदक जितेर इतिहास रच्यो। यो वर्ष नेपाली फुटबलमा सुखद रह्यो तर क्रिकेटका लागि दुःखद रह्यो ।

फुटबलमा नेपालले एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि जित्नुका साथै फुटबल संघले लामो समयपछि नयाँ नेतृत्व पायो । यता क्रिकेटमा भने नेपाललाई गहिरो चोट लाग्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आन्तरिक विवादलाई कारण देखाउँदै नेपालको क्रिकेट संघलाई निलम्बन गर्यो।

भलिवलमा नेपाली टोली भाग्यमानी,पहिलो अन्तर्राष्ट्रिय मेडल

नेपाली भलिवलका लागि बर्ष २०७३ अविष्मरणीय बर्षको रुपमा रह्यो। ४१ बर्षको अन्तर्राष्ट्रिय सहभागिताको इतिहासमा नेपाली पुरुष भलिवलले पहिलो पटक अन्तर्राष्ट्रिय मेडल जित्न सफल भयो । यही चैतमा माल्दिभ्समा सम्पन्न एसियन भलिबल संघ (एभीसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली पुरुष टोलीले कास्य पदक जितेको हो । जुन नेपाली भलिबल टोलीले एभीसी र अन्तराष्ट्रिय भलिबल महासंघ फिभबाट आयोजित तथा मान्यता प्राप्त प्रतियोगितामा जितेको पहिलो पदक हो। नेपाली पुरुष भलिबल सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल प्रतियोगितामार्फत अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो।

क्रिकेटका लागि बिर्सनलायक वर्ष, आंशिक सफलता

२०७३ साल नेपाली क्रिकेटका लागि बिर्सनलायक वर्षको रुपमा देखियो । क्रिकेट संघलाई भने विवादले छोडेन। वैशाखमा आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गर्यो। तर नेपाललाइ आईसीसीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने छुट दियो। क्यानलाई आईसीसीले निलम्बन गरेलगतै अखिल नेपाल फुटबल संघमा पनि भाँडभैलो मच्चिएको थियो। तर समयमै चुनाव गरेपछि समस्या समाधान भयो। नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद फेरि चर्कियो। रुक्म शमशेर राणा अध्यक्ष भएको एनओसीले सातदोबाटोस्थित एनओसी भवनमा ताला लगाइदियो। जीवनराम श्रेष्ठ र राणाबीचको विवादले नेपाली खेलकुदमा अझै अन्योल बढाएको छ।

नेपाली क्रिकेटमा यो वर्ष केहि सफलता भने देखियो । नेपाली क्रिकेटमा यो वर्षको सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रतियोगिता आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्यो । चौथो चरणमा नेदरल्याण्ड्स भ्रमण गरेको नेपालले पाचौं चरणमा केन्यासँग कीर्तिपुर मैदानमा जम्काभेट गर्यो विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणमा गत साउन २९ र ३० मा दुई खेल खेलेकोमा नेपालले एकमा जित र एकमा पराजयको नतिजा निकालेको थियो ।

त्यस्तै पाचौं चरणमा नेपालले गत फागुन २८ र ३० गते कीर्तिपुर मैदानमा केन्याबिरुद्ध खेल्यो । र एक खेलमा जित र एकमा पराजित भयो । सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकप छनौटको सुरुवाती खुड्किलो मानिएको यस प्रतियोगितामा नेपाल छैटौं स्थानमा छ । नेपालले १० खेलबाट ४ जित र ६ हारको साथ १० अंक जोडेको छ । प्रतियोगितामा दुई चरणका खेल बाँकी रहँदा नेपाल विश्वकपमा छनौट हुने संभावना निक्कै कमजोर देखिन्छ । नेपालले हङकङ र युएईसँग खेल्न बाँकी छ । महिला क्रिकेट भने हङकङमा भएको आईसीसी महिला विश्वकप छनोट एसियामा उपविजेता बन्यो। उपविजेता बनेर एसिया कप खेलेको सोही टोली प्रतियोगिताकै कमजोर सावित भयो।

फुटबलले थप्यो उपाधि (१ उपाधि, ४ जित, २ बराबरी र १ हार)

नेपाली फुटबलका लागि वर्ष २०७३ सफल रह्यो। नेपालले २०७३ मै एएफसी सोलिडारिटी कपको उपाधि उचाल्यो। एएफसीले एसिया कप छनोटबाट बाहिरिएका टोलीहरुलाई समेटेर सोलिडारिटी कप आयोजना गरेको थियो। फुटबलको महादेशीय प्रतियोगितामा नेपालले उपाधि जितेको यो नै पहिलो अवसर हो।

एएफसी कप २०१७ छनोटमा समूह विजेता बनेर थ्रीस्टार क्लबले प्लेअफ छनोट पार गर्यो। तर एन्फाको लापरबाहीले दोस्रो चरणमा खेल्न नपाएपछि थ्रीस्टारले ६ करोड रुपियाँ क्षतिपूर्ति माग्यो। सूत्रका अनुसार एक करोड दिएर विवादलाई टुंग्याउने दाउमा एन्फा देखिए पनि थ्रीस्टार असहमत नै रह्यो। यस्तै थ्रीस्टारले भारतको गुवाहाटीमा भएको ६४औं संस्करणको फाइनलमा इस्ट बंगाललाई हराउँदै बोर्डो कप ट्रफी उचाल्यो।

ओलम्पिकमा सहभागितामै सिमित

यसै वर्ष रियो डे जेनेरियोमा ओलम्पिक सम्पन्न भयो। जहाँ नेपाली पौडीवाज गौरीका सिंह सबैभन्दा कम उमेरकी खेलाडीबाट चर्चित बनिन् भने अन्य नेपालीको प्रदर्शन फितलो नै रह्यो। ओलम्पिकमा नेपालबाट ५ खेलमा ७ खेलाडीले सहभागिता जनाए । ओलम्पिकको छनौट चरणमा असफल भएका नेपाली खेलाडीहरु वाइल्ड कार्ड र वर्ल्ड एक्सेसमार्फत सहभागिता जनाएका हुन् । जुडो, तेक्वान्दो र आर्चरी खेलमा नेपालले वाइल्ड कार्ड पाएको थियो भने पौडी र एथ्लेटिक्स वर्ल्ड एक्सेस मार्फत सहभागिता सम्भव भएको थियो ।

नेपाली खेलाडीहरुमा तेक्वान्दोकी निशा रावल, जुडोकी फूपूल्हामू खत्री, आर्चरीका जितबहादुर मोक्तान, एथ्लेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई तथा पौडीका गौरिका सिंह र शिरिष गुरुङ सहभागी थिए ।

सातौं राष्ट्रिय खेलकुद बिभागीय टोलीलाई सफलता

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभागीय टोलीले सफलता हात पार्यो । प्रत्येक दुई बर्षमा हुनुपर्ने प्रतियोगिता पाँच बर्षपछि हुँदा खेलाडीहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए । पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो । बिराटनगरको शहीद रंगशालामा उद्घाटन भएको खेलकुद धरानको एन्फा टेक्निकल सेन्टरको मैदानमा समापन गरिएको थियो । मोरङको बिराटनगर, सुनसरीको इटहरी, इनरुवा, धरान र दुहवी त्यस्तै झापाको दमक, बिर्तामोड, काँकडभिट्टा र भद्रपुर, इलाम, राजविराज र सिरहा बजारमा सातौं राष्ट्रिय खेलकुदको आयोजना भए ।

दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कास्य पदकका लागि भएको प्रतियोगितामा नेपाली सेना पहिलो, सशस्त्र प्रहरी बल दोस्रो, नेपाल प्रहरी तेस्रो भयो भने मध्यमाञ्चल विकास क्षेत्र चौँथो भयो। झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर, कास्की र पोखरामा प्रतियोगिता अन्तर्गतका विभिन्न इभेन्टहरु भएका थिए। २९४ स्वर्ण, २९४ रजत र ४४७ काश्य गरी १०३५ पदकका लागि भएको स्पर्धामा नेपाली सेनाले सबैभन्दा धेरै सफलता हासिल गर्‍यो ।

सेनाले १०८ स्वर्ण, ६१ रजत र ४३ काश्य गरी जम्मा २१२ पदक हासिल गर्‍यो । ४७ स्वर्ण ४२ रजत र ५६ काश्य गरी सशस्त्र प्रहरीको एपिएफले १४६ पदक जित्यो । ४० स्वर्ण ३७ रजत र ४० काश्य जितेर नेपाल पुलिसले तेस्रो स्थान कब्जा गर्‍यो । बिभागबाहिर मध्यमाञ्चल पहिलो भयो । उसले ३१ स्वर्ण, ४९ रजत र ५७ काश्य जित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *