नेपाल पुलिसले जित्यो सुपर-८ क्रिकेटको उपाधि

सुपर-८ प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल पुलिसले जितेको छ। सुपर-८ क्रिकेट खुकुरी देविदास नेपालमा पहिलो पटक आयोजना भएको हो। आज (शनिबार) भएको फाइनलमा पुलिसले टिपटपलाई ३ विकेटले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ७९ रनको लक्ष्य पछ्याएको पुलिसले २ बल अगावै ७ विकेट गुमाएर पुरा गरेको हो। पुलिसको जितमा शंकर रानाले सर्वाधिक ३२ रन बनाए भने कुशल भुर्तेलले २० रनको योगदान गरे। टिपटपका प्रकाश विष्टले ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको टिपटपले निर्धारित ७ ओभरमा ५ विकेट गुमाउँदै ७८ रन बनाएको थियो। उसका लागि सुबेन्दु पाण्डेले २६ तथा प्रशन्न शाक्यले २४ रन जोडे।

बलिङतर्फ पुलिसका मन्जित श्रेष्ठले ३ तथा कुशल भुर्तेलले २ विकेट लिए।

म्यान अफ दी सिरिज मन्जित श्रेष्ठ घोषित भए। उनले नगद २५ हजार हात पारे।

यस्तै सोनु तामाङ बेस्ट ब्याट्सम्यान तथा ललित राजवंशी बेस्ट बलर घोषित भए। उनीहरुले १०-१० हजार प्राप्त गरे।

पुलिसले उपाधिसँगै नगद रु १ लाख र ट्रफी प्राप्त गर्यो भने टिपटपले ५० हजारमा चित्त बुझायो।

Leave a Reply

Your email address will not be published.