साफ यू–१८ च्याम्पियनसिपका लागि ३० जना खेलाडी छानिए

नेपालमा हुने साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि पहिलो चरणमा ३० खेलाडी छनोट भएका छन् ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पहिलो चरणमा प्रशिक्षणका लागि बोलाइएका ४६ जना खेलाडीबाट १६ जना हटाउँदै दोस्रो चरणको सूची सार्वजनिक गर्नु भएको हो ।

पहिलो चरणबाट बाहिरिएका खेलाडीहरु राम्रा भए पनि अझै सुधार गर्नुपर्ने प्रशिक्षक श्रेष्ठले बताउनु भयो । प्रशिक्षक श्रेष्ठले टिमभित्र रहेका मध्ये १२ जना खेलाडीसँग ए डिभिजन लिगको अनुभव भएकोले उनीहरुले आफूलाई अझै सुधार गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

घरेलु मैदानमा हुने च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान र भुटान समूह ए मा छन् । त्यस्तै भारत, श्रीलंका र बंगलादेश समूह बी मा छन् । प्रशिक्षक श्रेष्ठले आफ्नो लक्ष्य फाइनल पुग्ने र उपाधि जित्ने रहेको बताउनुभयो । उहाँले सेप्टेप्बर पहिलो हप्ता २३ जनाको अन्तिम नामावली सार्वजनिक गर्ने बताउनुभयो ।

प्रतियोगिता सेप्टेम्बर २० देखि २९ तारिखसम्म हलचोकको एपीएफ मैदानमा हुनेछ ।

अन्तिम ३० मा पर्ने खेलाडी

गोलकिपर : विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होना

डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, विशान्त बस्नेत, एलिक रुम्बा, अञ्जन महर्जन

मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकाश बुढामगर, रेजिन माझी, जय गुरुङ, मनिश थापा, कुशल पौडेल, नितिन थापा

फरवार्ड : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी ।