यू-१८ ललित स्मृति फुटबल : आर्मी र फ्रेण्डस् सेमिफाइनलमा

यू-१८ ललित स्मृति फुटबलको सेमिफाइनल समिकरण पूरा हुँदा त्रिभूवन आर्मी, फ्रेण्डस्, ब्रिगेड ब्वइज र मोरङ फुटबल क्लब अन्तिम चारमा पुगेका छन्।

आज भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि छिरिङ लामा, सुशन लामा र विवेक चौधरीले एक एक गोल गरेका थिए।

आर्मीका लागि छिरिङ लामाले ४२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। यसैगरी ७२ औं मिनेटमा विवेक चौधरीले आर्मीका लागि दोस्रो गोल गरे। इन्जुरी समयमा सुशन लामाले गोल गर्दै आर्मीलाई ३-० को जित सहित सेमिफाइनलमा पुर्याए।

अर्को खेलमा फ्रेण्ड्स क्लबले लुम्बिनी फुटबल क्लबलाई पेनाल्टीमा ३-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ। निर्धारित समय १–१ गोलको बराबरी खेलेपछि नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको थियो।

फ्रेण्ड्सका लागि दिपेश प्रसाईंले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ५३ औं मिनेटमा मोहन थापाले लुम्बिनीका लागि बराबरी गोल गरे। त्यसपछि थप गोल हुन नसकेपछि नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको थियो।

प्रतियोगिता अन्तरगत बुधबार सेमिफाइनलको खेल हुने छ। पहिलो सेमिफाइनलमा मोरङ र त्रिभुवन आर्मी क्लब तथा दोस्रो सेमिफाइनलमा ब्रिगेड ब्वाईज र फ्रेण्ड्स क्लब भिड्ने छन्।