युसिएल ड्र : बार्सिलोना र म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा भिड्ने, सिटीको प्रतिद्वन्दी टोटनहम

युरोपियन च्याम्पियन लिग युसिएलको क्वाटरफाइनलमा दुई पूर्व विजेता बार्सिलोना र म्यानचेष्टर युनाइटेड भिड्ने भएका छन्।

युइएफएले शुक्रवार सार्वजनिक गरेको ड्र अनुसार स्पानिस जायन्ट बार्सिलोनाले युनाइटेड प्रतिद्वन्दी पाएको हो। बार्सिलोनाले २००९ र २०११ मा युनाइटेडलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो। बार्सिलोना ५ र युनाइटेड ३ पटकको विजेता समेत हो।

यसैगगरी दुई इंग्लिस क्लब म्यानचेष्टर सिटी र टोटनहम हट्सपर पनि क्वाटरफाइनलमै भिड्ने भएका छन्। यस पटक क्वाटरफाइनलमा इंग्ल्याण्डबाटै चार वटा क्लब पुगेका छन्। अर्को इंग्लिस क्लब लिभरपुलले नेदरल्याण्ड्सको अयाक्ससँग खेल्ने भएको छ। लिभरपुलले ५ र अयाक्सले ३ पटक च्याम्पियन्स लिग जितिसकेका छन्।

यस्तै इटालियन जायन्ट युभेन्ट्स र पोर्टोबीच अर्को क्वाटरफाइनल हुनेछ। दुवै क्लबले समान २ पटक उपाधि जितेका छन्।

युइएफएल सेमिफाइनलको लागि पनि यही ड्र अनुसार नै खेल हुने जनाएको छ। बार्सिलोना र युनाइटेडबीचको विजेता सेमिफाइनलमा लिभरपुल र पोर्टो बीचको विजेतासँग खेल्नेछ। यस्तै सिटी र टोटनहमबीचको विजेता अर्को सेमिफाइनलमा युभेन्ट्स र अयाक्ससँगको विजेतासँग खेल्नेछ।

दुवै पोलमा इंग्लिस क्लबहरु रहेकाले यस सिजन दुवै इंग्लिस क्लब फाइनल पुग्न सक्ने सम्भावना पनि रहेको छ।

युरोपा लिग : आर्सनल र नेपोली भिड्ने

यसैगरी युरोपा लिगमा उपाधिका दुई दाबेदार इंग्लिस क्लब आर्सनल र इटालियन क्लब नेपोली पनि क्वाटरफाइनलमै भिड्ने भएका छन्। अर्को इंग्लिस क्लब चेल्सीले भने सिल्भिया प्राग प्रतिद्वन्दी पाएको छ। यसैगरी दुइ स्पानिस क्लब भियारिया र भ्यालेन्सिया पनि क्वाटरफाइनलमा खेल्नेछन्।

अर्को क्वाटरफाइनलमा वेनफिका र फ्राङफर्ट खेल्नेछन्।

Source: Pahilopost