बायर्नलाई हराउँदै लिभरपुल क्वाटरफाइनलमा

फरवार्ड साडियो मानेले दुई गोल गरेपछि इंग्लिस क्लब लिभरपुलले बायर्न म्युनिखलाई ३-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि बायर्नको मैदानमा भएको दोस्रो लेगमा लिभरपुल विजयी भएको हो ।

खेलको ३६ औं मिनेटमा भर्जिल भान डाईकको पासलाई सदुपयोग गर्दै मानेले सुरुवाती गर्त दिलाएका थिए । उनले बायर्नका गोलरक्षक म्यानुएल नोएर पोजिसनबाहिर रहेको फाइदा उठाउँदै गोल गरे । ३९ औं मिनेटमा लिभरपुलका जोएल माटीपले आत्मघाती गोल गरेपछि बयार्ण खेलमा फर्कने लक्षण देखिएको थियो । तर दोस्रो हाफमा लिभरपुलले दुई गोल थप्दै क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

६९ औं मिनेटमा जेम्स मिल्नरको कर्नरलाई भान डाईकले गोलको दिशा दिँदै लिभरपुललाई पुन: अग्रता दिलाए । मानेले खेल सकिन ६ मिनेट बाँकी रहँदा पुन: गोल गरेपछि लिभरपुलको जित पक्का भएको थियो । लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले खेलको इन्ज्युरी समयमा पहेंलो कार्ड पाएपछि उनले अर्को चरणको पहिलो लेग गुमाउने भएका छन् ।

लिभरपुलको जितसँगै क्वाटरफाइनलमा इंग्ल्यान्डका ४ टोली पुगेका छन् । सन् २००९ यता यस्तो अवसर पहिलोपटक जुरेको हो । लिभरपुलसँगै बार्सिलोना, म्यानचेस्टर सिटि, म्यानचेस्टर युनाइटेड, टोटेनहम हट्सपर, युभेन्टस, आयाक्स र पोर्टोले अन्तिम ८ को यात्रा तय गरेका छन् ।

Source: Hamrokhelkud