नेपाल समूह ‘बी’ मा

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको लागि दोस्रो चरणमा नेपाल समूह बी मा परेको छ।

बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेई र जोडर्न रहेका छन् ।

ड्र मा एसियाका ४० राष्ट्रहरुलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा ५-५ टिम छन्। सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कप २०२३ को लागि पनि यही ड्र कायम गरिनेछ।

दोस्रो चरणको छनोटबाट १२ टिमले अन्तिम चरणमा स्थान बनाउनेछन् । जसमा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को एसियन कपमा पनि स्थान बनाउनेछन् । दोस्रो चरणको छनोटमा एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरिएको हो ।

फिफाको क्यालेन्डरअनुसार दोस्रो चरणका खेलहरु आगामी सेप्टेम्बरदेखि अर्को वर्षको जुन नौ तारिखसम्म हुनेछन् । नेपाल एसियाको वरीयतामा शीर्ष ३४ भित्र परेपछि पहिलोपटक नेपालले सोझै विश्वकपको दोस्रो चरणमा स्थान बनाएको हो ।