नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

नेपालले आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियामाथि सहज जित हात पारेको छ। नेपाल ८ विकेटले विजयी भएको छ।

मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर रित गौतमले नटआउट ३९ रन बनाए। त्यसअघि स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिएपछि मलेसिया ९२ रनमै अलआउट भएको थियो।

नेपालका लागि पवन शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए । यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए । मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे ।

यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९३ रनको लक्ष्य पक्ष्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउदै पुरा गर्यो ।

झिनो लक्ष्य पाएको नेपालले राम्रो सुरुवात गरेको थियो । ४२ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । नेपालका ओपनर पवन सर्राफ ब्यक्तिगत १९ रनमा आउट भए ।

उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे । उनी लामो प्रहार गर्ने क्रममा स्टम्पिङ हुन पुगे । त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए । जसमा रितले ३९ रन बनाए भने आसिफ शेखले २६ रनको योगदान गरे ।