के छ एन्फाको नयाँ लोगोमा ?

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ लोगो सर्वजनिक गरेको छ ।

पोखराका सन्दीप तिवारीले तयार पारेको लोगो एन्फाको नयाँ लोगो बनेको हो । गत साउनमा एन्फाले नयाँ लोगोका लागि खुला प्रतिस्पर्धाको आव्हान गरेको थियो । जसबाट सन्दीपले ५ सय ७० प्रतिस्पर्धीलाई पछि पारेको हो । उनले ५० हजार रूपैयाँ हात पारे ।

नयाँ लोगोको सबैभन्दा माथि अंग्रेजी अक्षरमा नेपालको नाम रहेको छ । ठीक त्यसैमुनि विश्वको सर्वाेच्च शिखर सगरमाथा र पुछारमा चन्द्र र सुर्य अंकित नेपालको झण्डा छ । पुछारमा फुटबलको चिन्ह रहेको छ । नेपालको शिर ठाडो पार्ने काम सगरमाथाले गर्नेछ । ठाडो शिरमा नेपालको झन्डा फहरिदाको डिजाइनलाई लोगोमा उद्रित गर्न खोजिएको छ । फुटबलमा संघीय संरचना अनुसार ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने संकेत राखिएको छ । जर्सीमा नेपाल लेखिनेछ भने एन्फाको लोगोमा एन्फा रहनेछ ।

आफुले तयार पारेको लोगो एन्फामा उत्कृष्ट हुँदा खुशी लागेको उनले कार्यक्रममा बताए । एन्फाको लोगो दोस्रोपटक परिवर्तन भएको हो । यसअघि विसं २०६२–६३ को जनआन्दोलन पछि श्रीपेचको स्थानमा फुटबल राखेर नयाँ लोगो तयार पारिएको थियो ।

Source: Hamrokhelkud