ओमानमाथि नेपालको शानदार जित

कप्तान रोहित पौडेल, भीम सार्की र प्रतीष जिसीको उत्कृष्ट ब्याटिङ अनि स्पिनरहरुको उत्कृष्ट बलिङपछि आइसीसी यू-१९ विश्वकप छनोटमा नेपालले ओमानलाई फराकिलो रन अन्तरले पराजित गरेको छ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो।

मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । ३३ रनमा दुई विकेट गुमाएको नेपालका पारीलाई भीम सार्की र कप्तान रोहित पाैडेलले उकासेका थिए । जसमा रोहितले ७५ रन बनाए भने भीमले ३९ रनको योगदान गरे । यस्तै अभिशेख बस्नेतले १५ रन बनाए । नेपालको पारीको अन्तिममा रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ४१ रन बनाउँदा नेपालले बलियो लक्ष्य दियो ।

सुरुवात राम्रो गर्न नसकेको नेपालले १२ रनमा पहिलो विकेट गुमाएको भने ३३ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । नेपालका मध्यक्रमका खेलाडीबीच राम्रो साझेदारी हुन सकेनन् । छैटौँ विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुगेको हो ।

जवाफमा ओमान ४४ ओभर एक बलमा ७९ रनमा अलआउट भयो ।

ओमानका दुई खेलाडीबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । उसका अमनप्रित सिंहले र जील तान्नाले सर्वाधिक १३–१३ रन बनाउदा अरु खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।

२० रनमा पहिलो विकेट गुमाएको ओमानले २८ रन बनाउँदा चार विकेट खेर फालेको थियो । नेपालको कसिलो बलिङसामु निकै दबाबमा आएको ओमानले एकपछि अर्को विकेट गुमाउँदै ४६ रनमा ८ विकेट झार्यो ।

बलिङमा नेपालका पवन शरार्फले तीन तथा प्रतिश जिसी र सूर्य तामाङले दुई-दुई विकेट लिए ।